इटहरी / इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।

बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने ।

तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।

ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कुल मात्रै नियमित गइरहेका छैनन् घरमा गर्नुपर्ने गृहकार्य पनि नियमित गर्छन् ।

नियमित विद्यालय जान र गृहकार्य जान थालेपछि उनको पढाइ सुध्रिएको छ । पढाइसँगै उनको आनीबानीमा पनि परिवर्तन आएको छ । उनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् ।

धोइ पखाली गरेर सफा लुगा लगाउने र चिटिक्क हुन थालेका छन् इन्द्रजित । इन्द्रजितकै सिको पछ्याउँदै नियमित विद्यालय जान थालेका छन्, अमित सदा पनि ।

वन्दना र सन्तोषी पनि आजकाल कक्षा छुटाउँदैनन् । विद्यालय होस यो ट्युसन । दुवै नियमित भएपछि उनीहरू अहिले विद्यालयमा लेखपढ गर्न जान्ने विद्यार्थीमा गनिन थालेका छन् । उनीहरू सबै जना जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्छन् ।

१० महिना अघिबाट वडा नम्बर १ ले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ । ट्युसन कक्षामा ५७ जना बालबालिका भेला हुन्छन् । उनीहरूका लागि वडाले ३ जना शिक्षकको व्यवस्था गरेको छ ।

ट्युसन कक्षामा उनीहरू खाजा खान पाउँछन् । बालबालिकाका लागि वडाले कापी, कलम र पेन्सिलको पनि व्यवस्था गरेको छ । उनीहरूलाई विभिन्न खेलकुदका सामाग्री समेत वडाले उपलब्ध गराएको छ ।

मुसहर बालबालिकालाई ट्युसन पढाउने कविता सदाले वडाले कक्षा सञ्चालन गरेपछि मुसहर बालबालिकामा परिवर्तन सुरु भएको बताइन् । खाजाको समेत व्यवस्था भएपछि उनीहरू ट्युसन कक्षामा आउने गरेको बताइन् ।

ट्युसन कक्षामा मुसहर समुदायका बाहेक सीमान्तकृत अन्य समुदायका बालबालिका समेत पढ्न आउने गरेका छन् ।

इटहरी वडा नम्बर १ मा एक सय ५० मुसहर समुदायको घर रहेको छ । यस्तै, ५० भन्दा बढी माझी, चार सय भन्दा बढी थारुहरूको घर रहेको छ । उनीहरूलाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरिएको शिक्षक सदाले बताइन् ।

ट्युसन कक्षा सञ्चालन गर्न पाँच लाख रुपैयाँ बजेट वडाले विनियोजन गरेको थियो । सो रकमले ट्युसन पढाउने शिक्षकलाई पारिश्रमिक र स्टेश्नरीको व्यवस्था गरिएको वडाध्यक्ष कैलाश कार्कीले बताए ।

कार्कीका अनुसार मुसहर समुदायका बालबालिकाको शिक्षाको अवस्था सुधार गर्नका लागि आफूहरूले ट्युसन कक्षा सञ्चालन गरेको बताए ।

उनले सो समुदायसँग जोडिएका सीमान्तकृत र विपन्न परिवारका केटा केटीलाई पनि कक्षमा सामेल गराइएको बताए । विद्यालय नजाने बच्चाहरू नियमित विद्यालय जान थालेका छन् । 

उनले यो कार्यक्रमलाई निरन्तर दिनु पर्ने माग समुदायबाटै आएको बताए । उनले यसपटक पनि यो कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका कैलाश २०७९ मा भने वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाको नेतृत्व गरेका कार्कीसँग गरिएको संक्षिप्त कुराकानी :

वडा नम्बर १ ले के विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?

इटहरी उपमहानगर हुनुभन्दा यो हाँसपोसा गाँउ विकास समिति थियो । हाँसपोसाको ३ वटा वडा मिलाएर अहिले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ बनाइएको छ ।

यो वडामा २३ सयको हाराहारीमा घर धुरी रहेको छ । यो वडामा बसाइँ सरेर आउने क्रम उच्च भएपनि आदिवासी समुदाय मुसहर समुदाय र सीमान्तकृत समुदायको बसोबास रहेको छ ।

यसो भएकाले हामीले यो वडामा शिक्षालाई बढी प्राथमिकतामा राखेर काम गरेका छौ । मुसहर समुदायका बालबालिकालाई वडाले निःशुल्क ट्युसन पढाउने काम गरेका छौ भने उनीहरूलाई खेलकुदका सामाग्री समेत वडाको तर्फबाट वितरण हुने गरेको छ ।

हामीले वडामा रहेका मुस्लिम विद्यार्थीहरूका लागि पनि हामीले काम गरेको छ । केही मुस्लिम बालबालिका मदरसामा मात्रै पढ्दै आएकोमा वडाको सहजीकरणमा सामुदायिक विद्यालयमा समेत भर्ना भएका छन् ।

विद्यालयमा नजाने अवस्था रहेको ले मदरसा सँग सँगै विद्यालयमा पनि जानु पर्छ भनेर प्राथमिकता मा राखिएको छ । हाम्रै वडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय प्राविधिक धारतर्फ इटहरीमा नै उत्कृष्ट छ ।

यसै वर्षदेखि हामीले सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट समेत पढाउन सुरु गर्ने तयारी गरेका छौ । यसअघि नै हामीले सो विद्यालयमा इन्जिननियरींग विषयमा समेत पठन पाठन गरिरहेका छौ ।

राष्ट्रिय माविलाई हामीले उत्कृष्ट विद्यालय बनाउन आवश्यक सहयोग र सहजिकरण गरिरहेका छौ । विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थीहरूले भर्ना पाउन नसक्ने अवस्थामा विद्यालय पुगेको छ ।

हामीले यसको भौतिक पूर्वाधार विकासमा पनि काम गरिरहेका छौ । राष्ट्रिय माविमा प्राविधिकतर्फ तीनबर्षे सिभिल इञ्जिनियरिङ र १८ महिने प्रि डिप्लोमा कक्षा सञ्चालन भइरहेको छ ।

२०६९ साल देखि प्राविधिक धारको पढाई सुरु गरेको सो विद्यालयले तीन बर्से सिभिल इन्जिनियरींगमा ४८ जना र प्रि डिप्लोमामा ४० जना विद्यार्थी वार्षिक रूपमा पढाउँदै आएको छ ।


पूर्वाधार विकासमा वडाले कसरी काम गरिहरेको छ ?

भौतिक पूर्वाधारका हिसाबले यो वडा पछाडि परेको वडा हो । बसाइँ सरेर आउने क्रम तीव्र भएपछि खेती योग्य जमिनहरूमा प्लटिङ भएको छ । अव्यवस्थित रूपमा प्लटिङ गरिँदा डुबानको समस्या थियो ।

अव्यवस्थित रूपमा भएको प्लटिङका कारण वडा नम्बर १ मा डुबानको समस्या थियो । हामीले यो समस्या समाधान गर्न ड्रेनको व्यवस्थापन गरिरहेका छौ ।

हामीले ड्रेनका लागि मात्रै प्रदेश सरकार, उप महानगर र वडाको बजेटबाट ८० लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छौ । यस्तै, बाटोको स्तरोउन्नती र कालोपत्रे बनाउने समेत काम भएको छ । हामी आएपछि वडामा ८ किलोमिटर जति बाटो कालोपत्रे तथा ब्लक ओल्छ्याएका छ ।