महालेखा परीक्षकको प्रतिवेदनमा दुहबी नगरपालिकाको एकै वर्षमा १४ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । कुल भने ३८ करोड बेरुजु देखिएको छ ।
प्रतिवेदनअनुसार कुल एक अर्ब १३ करोड ३३ लाख ३३ हजार २१ रुपैयाँ लेखापरीक्षण गर्दा १४ करोड ३४ लाख १० हजार चार सय आठ रुपैयाँ बेरुजु देखिएको हो । जसमध्ये तीन करोड ८९ लाख ४९ हजार ७६ रुपैयाँ असुल गर्नुपर्र्ने छ । यस्तै पाँच करोड ५२ लाख ८४ हजार नौ सय ७० रुपैयाँ अनियमित देखाएको छ भने चार करोड ८४ लाख ५७ हजार नौ सय नौ रुपैयाँको प्रमाण पेश नगरेको प्रतिवेदनमा भनिएको छ । यस्तै पेश्की बाँकी ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । नगरपालिकाको गतवर्षसम्मको २४ करोड ८३ लाख ५४ हजार रुपैयाँसहित बेरुजु बाँकीसहित हालसम्मको अद्यावधिक ३८ करोड नौ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
२४ लाखको मोबाइल
नगरपालिकाले २४ लाख रुपैयाँभन्दा बढीको जनप्रतिनिधि र कर्मचारीलाई मोबाइल खरिद गरेको छ । कोशी प्रदेशअन्तर्गत गाउँ तथा नगरसभाका सदस्यको सुविधासम्बन्धी ऐन २०७५ मा जनप्रतिनिधि तथा कर्मचारीले मोबाइल पाउने व्यवस्था नभए पनि खरिद गरेको छ । नगरले एउटै मोबाइल ८२ हजारको समेत खरिद गरेको छ । पाँच जनालाई २४ लाखमा ११ वटा मोबाइल समेत खरिद गरेको हो ।