इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित  किड्स ह्याप्पी होम ले आफ्नो १४औँ अभिभावक दिवस तथा ५औँ दीक्षान्त समारोह उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

प्ले ग्रुपदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन गराउँदै आएको स्कुलमा कार्यक्रम शिक्षा विशेषज्ञ तथा काठमाडौं विश्वविद्यालय की संकाय सदस्य डा. मीनाक्षी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कक्षा ५ उत्तीर्ण गरी अन्य शैक्षिक संस्थामा अध्ययनका लागि प्रस्थान गर्न लागेका १४ जना विद्यार्थीहरूलाई दीक्षित गरी सम्मानसहित विदाइ गरिएको थियो।

प्रमुख अतिथि दाहालले विद्यालय र अभिभावकबीचको सहकार्य नै बालबालिकाको प्रभावकारी सिकाइको आधार भएको उल्लेख गरिन्। उनले घर–विद्यालय साझेदारीले बालबालिकाको बौद्धिक मात्र नभई भावनात्मक र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै व्यवहारिक सीप तथा जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरिन्।

विद्यालयकी प्रिन्सिपल रिता भुषालले संस्थाले विद्यार्थीहरूलाई स्वस्थ तथा सन्तुलित आहार उपलब्ध गराउँदै आएको जानकारी दिँदै नियमित रूपमा अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। साथै, अध्ययनमा कमजोर देखिएका विद्यार्थीहरूलाई लक्षित गरी विशेष कक्षा तथा व्यवहारिक अभ्यासमार्फत उनीहरूको क्षमता अभिवृद्धि गरिँदै आएको उनले स्पष्ट पारिन्।

वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक प्रस्तुति दिएका थिए। उनीहरूको प्रतिभापूर्ण प्रस्तुतिले कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विशेषज्ञ तथा प्रशिक्षक पूजा पन्त, नेपाल पत्रकार महासंघ का पूर्व केन्द्रीय सदस्य अमर खड्का, विद्यालयका सञ्चालक सुनिल भुषाल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धता पुनः उजागर गरेको आयोजकले जनाएको छ।