सुनसरी । कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी छन् ।   युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । 

युवतीले लम्साल र उनिबीच १० वर्षभन्दा बढी समयको चिनजान रहेको र लम्साललाई आफूले दाइ मानेको समेत बताएकी छिन् । घटनाबारे प्रस्ट पार्दै उनले उनिहरुबीच कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भनेकाले दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेको बताएकी छिन् । कुराकानीको क्रममा युवतीको स्वास्थ्यको कुरा निस्किएको बताउदै युवतीले भनेकी छिन्,‘आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’

‘जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो।’ उनी थप भन्छिन् ‘यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’

उनले आफू सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गरिरहेको पनि उल्लेख गरेकी छिन् । उनले लम्सालले कर्मको परिणाम भोग्नै पर्छ भन्दै थप भनिन्,‘आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्। ’

यस विषयमा लम्सालबाट भने केही प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।