इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ कसेनीमा लागूऔषध दुव्र्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले लागूऔषध दुव्र्यसन नियन्त्रणमा अभिभावक, परिवार र समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले लागूऔषधको कारोबारमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना दिन तथा अपराध नियन्त्रणमा नागरिकले ‘बर्दीबिनाको प्रहरी’का रूपमा सहयोग गर्न आग्रह गर्नुभयो। दुव्र्यसनमा फसेका व्यक्तिलाई कुटपिट वा यातना नदिई प्रहरीको जिम्मा लगाउन आग्रह गर्दै डीएसपी पन्तले उनीहरूको पुनस्र्थापना र भविष्यमा समाजमा पुनःस्थापित गराउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। मोरङमा यस महिनालाई लागूऔषध दुव्र्यसनविरुद्धको महाअभियानका रूपमा सञ्चालन गरिएकाले अभियान सफल बनाउन समेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष नैना साम्पाङ राईले वडा कार्यालयले लागूऔषधविरुद्धको अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको भन्दै स्थानीयवासीलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। वडा सदस्य चन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास समितिका संयोजक, पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक अभियन्ता तथा टोल विकास समितिका अगुवा रुद्र लिम्बूले आफ्ना टोलमा भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

पथरी शनिश्चरे–२ मा हाल १० वटा टोल विकास समिति रहेका छन्। उक्त कार्यक्रममा वडा सदस्य अम्बिका लिम्बु  , खिलानाथ घिमिरे , सर्वसाघरणको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलालले  गर्नुभएको थियो।