ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको वरीयता खस्किएका छ । क्रिकेटको सर्वोच्च निकाय आइसिसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १३औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल १२औँ स्थानमा रहेको थियो ।
चारदेशीय टी–ट्वान्टी सिरिज जितेको युएई भने नेपाललाई उछिन्दै १२औँ स्थानमा उक्लिएको छ । सिरिजमा नेपालले एक खेलमा मात्र जित निकालेको थियो भने दुई खेल जितेको युएईले सिरिज पनि जितेको थियो ।
चारदेशीय सिरिजमा सहभागी टेस्ट राष्ट्र आयरल्यान्ड १५औँ स्थानमा रहँदा ओमान १८औँ स्थानमा छन् । आइसिसीको टि–ट्वान्टी शीर्ष वरीयतामा इङ्ग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।


