युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । यो तनाव लम्बिए त्यसको असर नेपालसम्म आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ ।
युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी-व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ ।
रुसले आक्रमण सुरु गरेपछि युक्रेनी नागरिक राजधानी किभ छाडेर सुरक्षित स्थानतर्फ लागिरहेका समाचार आइरहेका छन् । युक्रेनमाथि रुसी कदमको कडा जवाफ दिने अमेरिकी प्रतिक्रियापछि दुई युरोपेली मुलुकको तनाव अझै बढ्ने डर छ ।
नेपाल-युक्रेन व्यापार
नेपाल र युक्रेनबीच वाषिर्क झण्डै साढे १७ अर्ब रुपैयाँको व्यापार हुन्छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना -साउदेखि माघ मशान्त) सम्म नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा युक्रेनबाट आयात गरेको छ । १५ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको भन्सार विभागमा तथ्यांक छ । गत आर्थिक वर्ष २०७७/७८ मा ३५४ प्रकारका फरक-फरक वस्तु नेपालले युक्रेनबाट आयात गरेको थियो ।
सानो परिमाणमा भएपनि नेपालबाट कार्पेट, चिया र चित्रकला युक्रेन निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । आर्थिक वर्ष २०७४/७५ यता मात्रै नेपालले युक्रेनसँग करिब ५७ अर्बको वैदेशिक व्यापार गरिसकेको छ ।
युक्रेनसँगको पाँच वर्षको व्यापार
| आर्थिक वर्ष | आयात | निर्यात |
| २०७४/७५ | ४ अर्ब ९३ करोड ६३ लाख ९७ हजार | ७६ लाख४६ हजार |
| २०७५/७६ | १० अर्ब १४ करोड ४८ लाख ३१ हजार | ३१ लाख १७ हजार |
| २०७६/७७ | १० अर्ब २२ करोड २६ लाख ३९ हजार | ४८ लाख १२ हजार |
| २०७७/७८ | १७ अर्ब १७ करोड ६८ लाख ३ हजार | २२ लाख ८६ हजार |
| २०७८/७९ (माघसम्म) | १४ अर्ब ४२ करोड ३३ लाख | १५ लाख ७८ हजार |
online khabar



