३० चैत, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल वर्षैभरि चर्चामा रह्यो । २०७८ सालमा नेपालको महिला राष्ट्रिय टिमले एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जित्दै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्यो ।
कोभिड-१९ महामारीले गर्दा वर्षको सुरुआती केही महिना प्रभावित बनेपछि घरेलु भलिबल गतिविधि भने निरन्तर भइ नै रह्यो यसवर्ष नेपालको महिला र पुरुष दुवै टिमले सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरे । महिला टिमले अपराजित रहँदै उपाधि रक्षा गर्दा पुरुष टिम पदकसम्म पुग्न सकेन ।
कोभिड-१९ ले गर्दा नेपाली महिला टिमले खेल्ने पक्का भएको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा रद्द हुँदा ठूलो प्रतियोगिता खेल्नबा६ नेपाल बन्चित रह्यो ।२०७८ सालको सुरुवातमा कोरोना महामारीले धेरै कार्यक्रमहरू रोक्यो । महामारीका कारण खेल कार्यक्रमहरु स्थगित भए ।
अन्तर्राष्ट्रिय स्तरमा धेरै सहभागिता जनाउन नपाए पनि भलिबलको चर्चा भने वर्षैभरि कायम रह्यो । तर अहिलेसम्म राष्ट्रिय खेलको आफ्नै छुट्टै कभर्ड हल नहुनुले भने गिज्याइरहेको छ ।
नेपाली भलिबलले यसवर्ष हासिल गरेको एक मात्र अन्तर्राष्ट्रिय उपाधि भनेको सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाली भलिबलका लागि यो वर्षको एक मात्र खुसी थियो २०१९ मा बंगलादेशमा पहिलो पटक भएको सेन्ट्रल जोन जित्दै अन्तर्राष्ट्रिय उपाधि जितेको महिला टोलीले यस वर्ष पनि त्यसलाई कायम राख्दै उपाधि जित्यो ।
नेपाली भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधिमा एक मात्र उपाधि नेपालले हात गर्यो । बंगलादेशको मिरपुरमा भएको प्रतियोगितामा नेपाली महिला टोलीले अब्बल प्रदर्शन गर्यो ।
फलस्वरुप महिला भलिबल टिमले महिला, पुरुष दुवै टोलीको प्रतिस्पर्धा रहेको यस प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जित्यो । राउन्ड रोविनमा आधिारित खेलमा नेपाल पाँच खेलमा अविजित रहँदै उपाधि जित्न सफल भएको हो । पुरुष टोली भने पाँच टोलीमा चौथो हुँदै नेपाल फर्कियो ।
नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलंकाविरुद्ध ३–२ ले जित हात पारेको हो । त्यसपछि माल्दिभ्स, उज्वेकिस्तान, बंगलादेश र किर्गीस्तानलाई सोझो सेटमा पराजित गरेको हो ।
पुरुषतर्फ नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित हुँदा दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध ३-१ को पुनरागमन जित निकालेको थियो ।
त्यसपछि श्रीलंका पराजित भएको नेपालले माल्दिभ्सलाई हराएर उज्वेकिस्तानसँग नै तेस्रो स्थानको लागि भेट पक्का गर्यो । तर निर्णायक खेलमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन र उज्वेकिस्तानसँग पराजित हुँदै पदक जित्न असफल रह्यो ।
वर्षको सुरुवातमा ठूला प्रतियोगिता हुन नसकेपनि असोजपछि भने घरेलु प्रतियोगिता लगायत कार्यक्रमहरु सञ्चालनमा आए ।
नेपाल भलिबल संघ एनभीएको आयोजनामा असोजमा सम्पन्न भएको छैटौं एनभीए क्लब लिग च्याम्पियनसिप आयोजना भयो । जसमा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
राखेपको कभर्डहलमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ न्यूडायमण्डले उपाधि जित्यो ।पुरुषतर्फ आर्मीले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । जसमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
त्यस्तै महिलातर्फ विजेता बनेको न्युडाइमन्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट महिला खेलाडी घोषित भइन् । च्याम्पियन आर्मी र न्यू डायमण्डले समान ४ लाख पुरस्कार पाए ।
एनभीए क्लब च्याम्पियनसिपबाट छानिएका उत्कृष्ट टिमबीच चैतमा एनभीए क्लब लिग आयोजना हुनुपर्नेमा हुन सकेन । नेपाल भलिबल संघले २०७९ वैशाखमा क्लब लिग बयोजना गर्नेगरी मिति सार्वजनिक गरेको छ ।
घरेलु भलिबलमा अर्को ठूलो प्रतियोगिताको रुपमा पुसमा पोखरामा दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना भयो । विभागीय टोली हावी बनेको प्रतियोगितामा महिला तर्फको उपाधि एपीएफले जित्यो भने पुरुषतर्फ आर्मीले उपाधि जित्यो ।
महिलातर्फ एपीएफले आर्मीलाई ३–० को सेटमा पराजित गर्दा पुरुषतर्फ भने आर्मीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो ।
यस्तै बाँके जिल्ला भलिबल संघ क्रिटिभ ह्याण्ड्सको आयोजनामा आठौं प्रधानमन्त्री कप नेपालगञ्जमा सम्पन्न भएको थियो । नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सम्पन्न खेलमा भारतको राष्ट्रिय खेलाडीहरु सम्मिलित हरियाणा स्पोर्टस क्लब नेपाल पुलिस पुलिसलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो ।
फाइनल जितेको हरियाणाले ट्रफीसँगै ५ लाख रुपैयाँ हात पार्यो ।
यसैगरी पुरुष भलिबलतर्फ सुदुरपश्चिम प्रदेशको आयोजना भएको हालसम्मकै सर्वाधिक पुरस्कार रकम राखिएको प्रतियोगिता सम्पन्न भयो । यस प्रतियोगितामा त्रिभुवन आर्मी कलबले उपाधि जितेको थियो । जसमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आर्मीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।
महिलातर्फ फागुनमा दमक र चितवनमा भएको राष्ट्रियस्तरको महिला भलिबलको उपाधि न्यू डायमण्डले जित्यो । घरेलु महिला भलिबलमा पछिल्लो समय एक छत्र राज गरेको एपीएफ भने यसवर्ष उत्कृष्ट प्रदर्शन गर्न सकेन । टाइगर कप जित्नु बाहेक अन्य प्रतियोगितामा एपीएफ फिक्का रह्यो । खेलाडीको चोटका कारण एपीएफले नेपालगञ्जमा भएको प्रधानमन्त्री कपमा सहभागिता जनाएन ।
वर्षको अन्तिममा भएको मनोरञ्जन शर्मा अवार्ड २०७८ मा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र घनश्याम चौधरीले अवार्ड प्राप्त गरे । नेपाललाई सेन्ट्रल जोनको उपाधि जिताउदाका कप्तान अरुणाले महिलातर्फ र घनश्यामले पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जिते । अवार्डसँगै दुवैले ४०-४० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, नेपाली भलिबलमा १० वर्षपछि बीच भलिबल (बालुवामा खेलिने) को आयोजना भयो । सञ्जय स्मृति प्रतिष्ठानले पाल्पाको रानीमहल प्रांगणमा आयोजना गरेको बीच भलिबलमा ९ टिमले प्रतिस्पर्धा गरे ।
चौधरी समूहको नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल भलिबल संघको प्राविधिक सहयोगमा गर्ने भनिएको नेपाल सुपर लिग भलिबल भने बयोजना हुन सकेन


