विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा नेकपा एमाले विराटनगर महानगर कमिटीले घोषणा पत्र सार्वजनिक गरेको छ । आफ्ना सिमानाका दुई नदिहरुलाई व्यवस्थित गरी डुङ्गा चलाउन योग्यको बनाउने प्रतिबद्धता एमालेले जारी गरेको हो ।   

बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले विराटनगरका दुई सीमा नदीहरूमा डुङ्गा चलाउन सक्ने गरिको खोलालाई व्यवस्थित गर्ने जनाएको छ । दुई खोलालाई हरियाली पार्कसहित नदीमा तटबन्ध गरेर डुङ्गा सञ्चालन गर्ने र माछा पालन गर्ने प्रतिबद्धता एमालेको छ । डुङ्गा सञ्चालन गर्ने र माछा पालन सँगै दुई वटै खोला किनारमा पार्क निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले विपन्न बालबालिकालाई निःशुल्क शैक्षिक सामाग्री उपलब्ध गराउने, विपन्न ज्येष्ठ नागरिकलाई भत्ता दिने देखि  योजनासहित एक सय बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेले एक सय बुँदे प्रतिबद्धता जनाएको हो ।

सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा अति गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका असहाय नागरिकलाई थप सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धता जनाएको हो ।

एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ । चुनावका लागि घरदैलो सुरु गरेको एमालेले विभिन्न योजनासहित एक सय बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो ।