सुन्दरहरैँचा / नेपाल ओलम्पिक कमिटि अन्तरगतको स्पोर्ट्स फर अल कमिसन प्रदेश नं. १ समितिले ओलम्पिक डे को अवसरमा यहि जेठ २८ गते देखि असार ९ गते (जुन ११ देखि २३ तारिख) सम्म विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।
उत्कृष्टता, सम्मान र मित्रता तीन मूल्य र मान्यतामा रही विश्वव्यापी ओलम्पिक अभियानको बारेमा खेलकुदप्रेमीहरू देखि सर्वसाधारण सम्म खेलकुद क्रियाकलापहरुको माध्यमबाट जनचेतना, जानकारी, उत्प्रेरणा र श–शक्तिकरण गराउने उद्देश्यका साथ बृहत खेलकुद क्रियाकलाप आयोजना हुने भएको हो ।
सिमान्तकृत र प्रतिभाशाली खेलाडी तथा खेलको प्रवद्र्धन, उत्थान, सभ्य समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने आयोजकको उद्देश्य रहेको छ ।

जुन ११ तारिखबाट प्रारम्भ हुने कार्यक्रममा मोरङ् जिल्ला भरका विद्यालय, क्लब तथा खेलकुदसँग सरोकार राख्ने संघसंस्थाहरूको सहभागितामा शारीरिक सुगठन (जीम) विधाका प्रतियोगिता, ब्याडमिन्टन, फुटसल, बक्सिङ, जिम्यास्टिक, बास्केटबल, तेक्वान्दो, छोटो दूरिका दौड, कराते, टेबलटेनिस, लगायतका प्रतियोगिताहरू सञ्चालन हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । साथै कार्यक्रमको अन्तिम दिन जुन २३ तारिखका दिन जिल्ला र नगर भरिका खेलाडी, खेलकुद संस्थाहरू, क्लब, विभिन्न सामाजिक संघसंस्था, सुरक्षा संगठनहरू लगायतका सामाजिक व्यक्तित्वहरूको वृहत सहभागितामा मोरङ जिल्ला अन्तरगत सुन्दरहरैँचा नगरपालिकाको विराटचोकदेखि सलकपुर चोक सम्म प्रभातफेरीका साथ सम्पन्न गर्ने स्पोर्ट्स फर अल कमिसन प्रदेश १ समितिका उप–संयोजक रञ्जन ओझाले बताउनुभयो ।
यस वृहत खेल महोत्सव कार्यक्रमका सहयोगी संस्थाहरूमा वि.पि अध्ययन प्रतिष्ठान नेपाल मोरङ, वि.पि.अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैँचा, नेपाल म्युजिक फेस्टिबल, नेपाल स्कुल अफ अन्ट्रप्रनर्शिप, स्टे«न्थ जीम तथा फिटनेस सेन्टर, विराट इन्जिनियरिङ सोलुसन्स प्रा.लि र कफि क्लब रहेको स्पोर्ट्स फर अल कमिसन मोरङ जिल्ला संयोजक दीपक गुरुङले बताउनुभयो ।
ओलम्पिक डे को अवसर पारेर नेपाल ओलम्पिक कमिटी प्रदेश नं. १ ले पहिलो पटक वृहत रुपमा आयोजना गरेको यस कार्यक्रम भब्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न हुनेमा आशावादी रहेको प्रदेश सदस्य (पूर्वाधार विज्ञ) ई.मनोज अधिकारीले बताउनुभयो ।



