विराटनगर । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले कोसी प्रदेश सरकारले पहिलो पटक विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शनिबार आयोजना हुने खुला प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएको छ। 

खुला दौडमा सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ। मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरेर प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । 

उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउने धावकको विवरण उपलब्ध गराउन कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, सुनसरीको पकलीमा रहेको सशस्त्र प्रहरीको वराह बाहिनी मुख्यालय, नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरी, ७ वटै प्रदेश तथा कोसी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघलाई पत्राचार गरिसकिएको छ। अन्य इच्छुकले पनि म्याराथनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। धावकको नामावली दर्ताको समय अगामी जेठ ४ गते दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।