भोजपुर / भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता यही कार्तिक २४ गतेदेखि हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका प्रत्येक वडाहरुबाट सम्बन्धित खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।

हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो । 

प्रतियोगितामा विजेताले नगद रु. ३५ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप–विजेताले नगद रु. २० हजार पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  खेलमा सहभागिताको लागि प्रत्येक समूहमा ११ जना खेलाडी हुनेछन् । 

खेलाडीले अनिवार्य रुपमा सम्बन्धित वडाको परिचय खुल्ने कागजात पेश गर्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।  नकआउट को आधारमा हुने यस प्रतियोगितामा कुनै एक वडाबाट बढीमा २ टीम सहभागी हुन पाउने छन् ।  खेलमा सहभागिताको लागि प्रत्येक वडाकार्यलय, खेलकुद विकास समितिहरुमा पत्राचार गर्ने कार्य सम्पन्न भएको आयोजकले जनाएको छ ।