सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ ले वडाका पाँच जना महिला र दुइ वटा संस्थालाई सम्मान गरेको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडाको डिपू चोकमा मंंगलबार सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतमा विशेष कार्यक्रम गरि पाँच जना विभिन्न क्षेत्रमा उदाहरणीय महिला र दुइ वटा सामाजिक संस्थालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायतले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अग्रजहरुको उचित लालनपालन गर्ने, सीपको सदुपयोग गर्ने, संघर्षमय जीवन बिताउने, पिछडिएको बस्तीमा चेतना फैलाउने, संस्कृतिको सम्वद्र्धन गर्ने लगायतका काममा सक्रिय भएकाहरुलाई सम्मान गरिएको वडाध्यक्ष सन्तोष लिङ्देनले बताए ।
कार्यक्रममा स्थानीय अञ्जना विश्वकर्मा, ताराकुमारी दर्जी, बिल्टी चौधरी, वैजयन्ती लिम्बू, सावित्री ऋषिदेव, पारिजात महिला बचत तथा ऋण सहकारी संस्था र हिमचुली सांस्कृतिक समूहलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले घरबाटै लैङ्गिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । वडा नम्बर ६ बाट निर्वाचित कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य गीता मिश्रले गरेकी थिइन् । 



