भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ ।

भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै सेवा लिन पाउँदा सहज भएको वडा नं ४ खाटम्माका स्थानीयबासी काजी तामाङले बताए । गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ ।

घुम्ती शिविरबाट वडास्तरियसँगै पालिकास्तरिय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षी सेवा, पञ्जीकरण अन्तर्गत घटना दर्ता सम्बन्धी सेवा र अभिमुखिकरण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण तथा बैंक सम्बन्धी सेवासमेत प्रदान गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

एकिकृत घुम्ती शिविरमार्फत वडामा सेवा पाउदा खुसी लागेको वडा नं ६ सालेवाका स्थानीयबासी लेखनाथ गिरीले बताए । शिविरले सानो कामको लागि दुईदेखी तीन दिनसम्म विताएर गाउँपालिकासम्म जानु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । 

सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट बृहत एकिकृत घुम्ती शिविरमार्फत जनतालाई सेवा दिइएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । ''जनताको वरिपरि सेवा’ भन्ने मान्यताका साथ काम गरिरहेको अध्यक्ष कुलुङले बताए । सय दिने रोजगारी अभियान अन्तर्गत वडामै रोजगारी सम्झौता गरिएको उनले बताए ।''

महिला विकास अन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको छ । शिविरबाट नौ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिईन ।