सुनसरी / बराहक्षेत्र नगरपालिका, चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले आज बराहक्षेत्र-८ स्थित श्री जनक मा.वि., सालवनीको बिशेष (सुस्त श्रवण) कक्षामा अध्ययन गर्ने २० जना बहिरा विद्यार्थीहरूलाई न्यानो कपडा (ट्राक सुट) वितरण गरेको छ ।
क्लबका अध्यक्ष दुर्गानन्द दास (बिक्रम) को शुभ जन्मोत्सवको अवसर पारेर क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको हो । "जन्मोत्सवमा भेटघाट र साथीभाइ संगको रमाइलोमा हुने खर्चबाट कटौती गरि अति आवश्यक परेका र आश्रितहरूलाई केही सहयोग गरौँ भन्ने भावबाट क्लबका सदस्यहरूले स्थापना कालदेखि नै समुदाय केन्द्रीकृत कार्यक्रमहरू गर्दै आइरहेका छौँ । यो त्यसैको निरन्तरता हो ।" क्लबका अध्यक्ष दासले भनें ।
बराहक्षेत्र नगरपालिका वडा नं.-८ का वडा अध्यक्ष रोशन खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईं, लायन्स क्लबका जोन चेयर पर्सन सुनिल शाह, विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भट्टराई तथा बिशेष कक्षाका श्रोत शिक्षक घनश्याम नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सन्दर्भमा बोल्दै बराहक्षेत्र-८ का वडा अध्यक्ष रोशन खड्काले क्लबका गतिविधिहरूको खुलेर प्रशंसा गरे ।
"यो क्लब स्थापना हुँदा देखि नै म क्लबको नजिक रहेको छु । सामाजिक रूपान्तरणका क्षेत्रमा यस क्लबले स्थापना कालदेखि नै निरन्तर उल्लेखनीय कार्यक्रमहरू गरिरहेको छ । म व्यक्तिगत हिसाबमा र वडा अध्यक्षका हिसाबले क्लबका गतिविधिसंग जोडिन पाएकोमा गौरव महशुस गर्दछु । यस क्लबले सामाजिक उत्तरदायित्व बहन गर्नमा जुन सक्रियता देखाएको छ त्यसका लागि क्लब प्रति म बिशेष धन्यवाद र आभार प्रकट गर्दछु ।" उनले भनें ।
हामी सेवा गर्छौँ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढिरहेको क्लबले यस बर्ष मात्रै सामुदायिक विद्यालयमा कपी कलम वितरण, गरिब परिवारलाई खाद्यान्न वितरण, बोन म्यारो क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण, वृक्षारोपण कार्यक्रम लगायतका कार्यक्रमहरू गरिसकेको र आगामी समयमा निरन्तर समुदायमा प्रत्यक्ष सरोकार राख्ने कार्यहरू गर्दै सामाजिक सेवामा अगाडि बढिरहने क्लबका संस्थाापक अध्यक्ष सन्तोष चौलागाईंले बताए ।


