मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका -११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् ।
१० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।
मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।
दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका अध्यक्ष नवनित राज प्रधान लगायत अन्य पदाधिकारीहरुले मेडल ,कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी थिइन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।


