इटहरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०८० माघ १४ गते आइतबार देखि सुरु हुदैछ।

पत्रकार सम्मेलनमा नेपाल हिसानका केन्द्रिय सदस्य मुकुन्द घिमिरे, एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की महासचिव कोबिद कार्की लगायतको उपस्थिति रहेको थियो ।

हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, चेस, टेबल टेनिस, नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। पहिलो दिन हिसान रन  आयोजना गरेर १० औं स्पोर्ट मिट सुरु हुने स्पोर्ट मिट संयोजक सुवास लुइटेलले बताए । स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिता पुर्वान्चल सेकेण्डरी स्कुल तरहरामा, बास्केटबल सुस्मा सेकेण्डरी स्कुल इटहरीमा, टेबल टेनिस, ब्याटमिन्टन, एथलेटिक्स इटहरी रंगशालामा हुने  संयोजक हेमन्त भण्डारीले बताए ।

फुटबल प्रतियोगिता भने हिसान एन्फा सुनसरी कपको ब्यानरमा रनिङ सिल्ड ढाँचामा हुने एन्फा सुनसरी बरिष्ठ उपाध्यक्ष भेषराज कार्की ले बताए । समापन भने कस्तुरी कलेज इटहरीमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ । हिसान स्पोर्टस मिटमा सुनसरी जिल्ला भरीका ६ सय विद्यार्थी प्रत्यक्ष र ६ हजार विद्यार्थी अप्रत्यक्ष सहभागिता रहने आयोजकले बताएको छ ।