इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले हात पारेको  छ । 

शनिबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा  भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुमेको थियो ।

बिटिएफसीका लागि खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्र भण्डारीले हेडिङ मार्फत १ गोल गर्दै टिमका लागि खाता खोल्न सफल भएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको बिटिएफसीले दोस्रो हाफ पछि थप ३ गोल गर्न सफल भएको थियो भने, सिधुँवाका भुवन बस्नेतले दोस्रो हाफको ३ मिनेटमा पेनाल्टी मार्फत १ गोल गरका थिए । 

द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गते देखि भइरहेको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी हात पारेको छ । यसअघि नगद दुई लाख ११ हजार दिने भनिए पनि पुरस्कार राशी वृद्वि गरिएको क्लबका अध्यक्ष विजय सुब्बाले बताउनु भयो । उपविजेता हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ, मेडल, प्रमाण पत्र र ट्रफीमा चित्त बुझाएका होे । खेल संयोजक तथा क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा कूल २० लाख खर्च हुने अनुमान समेत गरिएको छ ।