संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ  १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको छ । 

प्रतियोगिता आगामी चैत्र ९ देखि ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको छ । प्रतियोगितामा व्याडमिन्टनका चार इभेन्ट समावेश गरेर एनबिए र बिए डब्लुएफको नियमानुसार खेलाउने आयोजले बताएको छ  ।  मादी नगरपालिकाको १३ औं नगरसभाले आ.व. २०८०)०८१ को विनियोजन ऐनमा  १० लाख वजेट विनियोजन गरि यो प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्ने गरि निर्णय गरेर अघि बढेको थियो ।  मादी नगरपालिकालाई भौतिक पुर्वाधार विकाससँगै खेलकुद र पर्यटनलाई पनि सँगसँगै जोड्नको लागि राष्ट्रिय व्यापी खुल्ला व्याडमिन्टन प्रतियोगिता गर्ने भएको मादी नगर प्रमुख जिवन लिङथेपले बताउनु भयो । 

त्यसैगरि, अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्र पनि उत्तिकै समावेशी र लैंगिकमैत्री हुनु पर्छ भन्ने मादी नगरको विश्वास र मान्यता अनुरुप यो संस्करणमा पनि उमन्स डबल विधालाई निरन्तरता दिँदै  मिक्स डबल विधा समेत थप गरिएको जानकारी नगर उपप्रमुख सुनितादेवी दाहाल भट्टराईले बताउनुभयो । खेल संयोजक लक्ष्मण लिङथेपले मादी नगरलाई राष्टिय÷अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा खेल पदाधिकारीलाई  मादी नगरमा जोड्ने र मादी नगर पनि खेल क्षेत्रमा अब्बल छ भन्ने सन्देश दिन र   सम्पूर्ण व्याडमिन्टन खेल प्रेमीहरुलाई खेल संयोजक लिङथेपले मादीमा निमन्त्रणा समेत गर्नुभएकोे छ ।

सबै भन्दा वढी  मेन्स् डबल इभेन्टमा प्रथम पुरस्कार  १ लाख भएको र चार वटै इभेन्टमा प्रथम, द्वितीय र तृतीय स्थान समेत गरि  ५ लाख ४५ हजार पुरस्कार राशि भएको र मुख्यतः टाढा टाढाबाट आउने खेलाडीको सहजताको लागि प्रतिदिन प्रति खेलाडी  ८ सयको दरले भत्ता समेत प्रवन्ध गरिएको छ  । प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गरि प्रतियोगितालाई कोशी प्रदेश कै उत्कृष्ट बनाउन, कुनै कसर बाँकी नराख्ने साथै रचनात्मक सहयोगको लागि खेलप्रेमीहरुमा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले आव्हान गर्नु भएको छ ।