इटहरी / इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा फागुन २६ गते देखि चैत्र ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा सहित इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ९ टिमको सहभागीता रहने भएका छन् ।
८ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ६१ हजार रुपैया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र बिधागत उत्कृष्टले ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार पुरस्कार पाउने छन ।
इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा आयोजक टिम हाम्रो इटहरी भेट्रान क्लब, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट मेघा स्पोर्ट्स एकेडेमी भेट्रान विराटनगर, राजारानी भेट्रान धनकुटा, उर्लाबारी भेट्रान मोरङ, दमक लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा र रियल फ्रेन्डस भेट्रान सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष निर्मल तामाङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न कूल ६ लाख लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
खेलकुद प्रति समर्पित क्लब चेतना मूलक कार्यक्रम, चार्डपर्वमा साँस्कृतिक कार्यक्रम, बाढी पिडित राहत वितरण, आन्तरिक पर्यटनको प्रवर्द्धन हुने, स्थानिय यूवा, यूवतीलाई फूटबल तर्फ आकर्षित गरी दुर्व्यसनी, कुलत र कुसंगतबाट टाढा राख्न साथै सामाजिक सद्भावना एवम् सकारात्मक सन्देश जाने, समुदाय र वर्ग बिचमा मातृत्व र सद्भाव कायम रही समृद्ध राष्ट्र बनाउन महत्वपूर्ण योगदान पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
कुनै पनि संस्थालाई प्रायोजन गर्ने चाहाना छ भने प्रायोजन हुन सकिने आयोजकको भनाइ छ ।


