इटहरी / वि.सं २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ ।
नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै विद्यालयका आगामी योजना र लक्ष्य के छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
विद्यालयको संक्षिप्त परिचय दिनु पर्दा कसरी दिनुहुन्छ ?
अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्था हो ।
अनुशासन र संस्कारयुक्त शिक्षालाई अभियानको रूपमा अगाडि बढाएको यस विद्यालयले वि.सं. २०४९ सालदेखि कोसी प्रदेश र मधेस प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा इटहरीका पुराना संस्थागत विद्यालयहरूमध्ये मोडर्न प्रिप्रेरेटोरी स्कुल पनि एक हो ।
यस विद्यालयबाट अहिलेसम्म कोसी र मधेस प्रदेशका दशौं हजार विद्यार्थीहरूले विद्यालय तहको शिक्षा लिइसकेका छन् ।
यहाँबाट उत्तीर्ण विद्यार्थीहरू स्वदेश तथा विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट उच्च शिक्षा हासिल गर्न सफल भएका छन् । समग्रमा, मोडर्न प्रिपेरेटोरी स्कुलले स्थानीय शैक्षिक आवश्यकता पूर्तिका लागि निरन्तर रूपमा काम गरिरहेको छ ।
विद्यालयका विशेषता के के छन् ?
यस विद्यालयमा राम्रो शिक्षण अनुभव भएका विश्वसनीय र अनुभवी शिक्षकहरू हुनुहुन्छ । शिक्षकहरूलाई थप दक्ष बनाउन ‘इनसर्भिस’ तालिम तथा कार्यशालाहरूको आयोजना गर्ने गरेका छौँ ।
शिक्षा क्षेत्रका सम्बन्धित विज्ञहरूबाट नियमित परामर्श र उत्प्रेरणाका कक्षाहरू सञ्चालन गरिरहेका छौँ । जसले विद्यार्थीहरूका शैक्षिक विकासलाई अत्यधिक महत्त्व दिन्छ ।
विद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । मल्टिमिडियाको प्रयोग गरेर श्रव्य दृश्य सामाग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाइका कामहरू सञ्चालन गरिरहेको छ । पठनपाठनमा आईसीटीको प्रयोग गरिरहेका छौँ ।
जसबाट शैक्षिक अवसर विस्तारका साथै सिकाइमा गुणस्तर सुनिश्चित गर्न मद्दत पुगेको छ । पढाउन स्मार्ट बोर्डको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रणबाट पढाइ अझ प्रभावकारी भएको छ ।
यसै शैक्षिक सत्रबाट सिकाइलाई आधुनिकीकरण गर्दै ‘लर्निङ म्यानेजमेन्ट सिस्टम’ को प्रयोगबाट पाठ्यक्रमले निर्दिष्ट गरेका विषयमा प्रभावकारी शिक्षणको नीति लिइएको छ । यसको प्रयोगसँगै विद्यार्थीको शिक्षण, सिकाई मजबुत बनेको छ ।
विभिन्न कार्यक्रमहरूमार्फत विद्यार्थीहरूलाई फरक विषयहरूमा ज्ञान, सीप प्रदान गर्दै र विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत गरिरहेको छ । त्यसै गरी, विद्यालयले विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सुविधाहरू समेत दिइरहेको छ ।
जसले गर्दा विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूलाई सहज बनाउन मद्दत पुगिरहेको छ ।
अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई मोडर्न प्रिपेरेटोरीमा नै किन भर्ना गर्ने ?
मोडर्न प्रिपेरेटोरी स्कुलले शिक्षाको लागि बाल मनोविज्ञानलाई ध्यानमा राखेर बाल केन्द्रित दृष्टिकोण अनुसार शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
जसले प्रभावकारी सिकाइका लागि स्वतन्त्रता, अनुशासन र संस्कारयुक्त सिकाइ, आत्म निर्देशित सिकाइ र हातमा सिकाइका अनुभवहरूमा विशेष गरी प्रयोगात्मक सिकाइमा जोड दिन्छ ।
व्यक्तिगत र सामाजिक व्यवहारका कुराहरू पनि नानीहरूले विद्यालयमै सिक्छन् । विद्यालयमा हामीले अभ्यास गरिरहेको सिकाइको दृष्टिकोणले बालबालिकाहरूलाई आफ्नै गतिमा सीपको विकास गर्न र उनीहरूको आफ्नै रुचि र प्रतिभा पत्ता लगाउन प्रोत्साहन गर्दै आएको छ ।
यस अभ्यासका कारण जीवनभरका लागि नानीबाबुहरूको सिकाइ प्रभावकारी हुन्छ । विद्यालयले प्रायः विविध र बहु सांस्कृतिक सिकाइ वातावरण प्रदान गर्दै आएको छ । जसले नानीबाबुहरूलाई उनीहरूको वरपरको वातावरण बुझ्न, उक्त वातावरणमा घुलमिल हुन, प्रकृति र प्रशंसा विकास गर्न मद्दत गर्दछ ।
विद्यालयमा पाठ्यक्रम बाहेकका केके सिकाइ हुन्छन् ?
हामीकहाँ पाठ्यक्रमबाहेक अतिरिक्त र व्यवहारिक शिक्षालाई जोड दिँदै आएका छौँ । बालबालिकाहरूले उमेर अनुसार जान्नुपर्ने व्यवहार, प्रस्तुति, सीप, अनुशासन र कर्तव्यका कुराहरू सिक्नुपर्छ भन्नेमा हाम्रो मुख्य जोड रहेको छ ।
जसका लागि नियमित रूपमा विभिन्न कार्यशालाहरू, रुचि अनुसार विभिन्न विषय र क्षेत्रसँग सम्बन्धित क्लबहरूका कार्यक्रमहरू, फरक किसिमका शैक्षिक र अध्ययन भ्रमणहरू, प्रदर्शनी र विभिन्न विधाका प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन हुन्छन् ।
हामीकहाँ पाठ्यक्रम अन्तर्गतकै पनि प्रयोगात्मक अभ्यासहरू धेरै हुन्छन् । जस्तैस् सामाजिक अध्ययन अन्तर्गत ठुला कक्षाका विद्यार्थीहरूले निर्वाचन लगायतका विषयमा पढ्नुपर्छ ।
हाम्रो विद्यालयले नेपाल प्रहरीको सहयोगमा लागू औषध दुर्व्यसन, साइबर सुरक्षा लगायतका विषयमा श्रव्य दृश्यसहितको सचेतना कक्षाहरू र अन्तरक्रियाहरू सञ्चालन गरिरहेको हुन्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा विपद् व्यवस्थापनका विषयमा प्रशिक्षण र अभ्यासहरू सञ्चालन भइरहेका छन् ।
समाजका विभिन्न क्षेत्रहरू जस्तैस् सामाजिक, साहित्यिक, वैज्ञानिक, राजनीतिक लगायतका क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूसँग नियमित अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्नेजस्ता काम विद्यार्थीहरूले नै गर्दै आएका छन् ।
त्यसै गरी, समाजका सबै समुदायका विद्यार्थीहरूको उपस्थितिले हामी उत्साहित छौँ । यो अवस्थाको सदुपयोग गर्दै हामीले नानीबाबुहरूलाई आफ्नो मौलिक भेष भूषा र संस्कृतिप्रति अभ्यस्त बनाउँदै अपनत्वको भावना बढाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौँ ।
यसले नयाँ पुस्तालाई आफ्नो समुदायको पहिचान र मौलिकताप्रति गौरव गर्न सिकाउँछ भने एक अर्काको भेष भूषा र संस्कृतिको बारेमा जानकारी गराउँदै फरक संस्कृतिको सम्मान गर्न सिकाउँछ । जसले गर्दा बालबालिकामा सामाजिक सहिष्णुता र अनेकतामा एकताको भावना जागृत गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
पाठ्यपुस्तक बाहेकका क्रियाकलापका लागि विद्यालयमा रहेका मोडर्न बाल क्लब, मोडर्न आर्ट एण्ड लिटरेचर क्लब, मोडर्न ट्राभल एण्ड टुरिजम क्लब, मोडर्न इन्भायरोमेन्ट एण्ड सेनिटेसन क्लब, मोडर्न सोसल वेलफेयर क्लब, जुनियर रेडक्रस सर्कल, स्काउट तथा एनसीसीका क्याडेटहरूको सक्रियतामा सामाजिक कार्यहरूमा विद्यार्थीहरू सहभागी हुन्छन् ।
विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?
हेर्नुस्, हामी विद्यालय सञ्चालन गरिरहेका छौँ भन्ने कुरामा सचेत छौँ । अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाइमा हाम्रो मुख्य जोड छ ।
विद्यालय भनेको विद्याको पवित्र मन्दिर हो । हामीले गरेको कामको मूल्याङ्कन अभिभावकहरूले, समाजले गरिरहनुभएको हुन्छ ।
हामी हाम्रो कामबाटै विद्यार्थी आकर्षित हुन् भन्ने चाहन्छौँ । हाम्रो रणनीति नै सिकाइलाई प्रभावकारी बनाउन हामीले गरेका कामको गुणस्तर र अभ्यासहरू समाजमा पुगोस्, अभिभावकले थाहा पाउनुहोस् ।
अन्त्यमा के भन्नुहुन्छ ?
आजका स्कुले विद्यार्थी भनेका भोलिका कर्णधार हुन् । त्यसैले, मोडर्न प्रिपेरेटोरी स्कुल विद्यालयमा हुने शिक्षण सिकाइ अनुशासन र संस्कारयुक्त हुनुपर्छ भन्ने कुरामा दृढ छ ।
अनुशासित र मर्यादित भएर गरिने अभ्यास र मेहनतले मात्र जीवनमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक रूपमा सिकाउँदै आएका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।
नानीबाबुहरूको शैक्षिक, सामाजिक स्तरोन्नतिका निम्ति हामी सचेत छौँ । विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक मिलेर काम गर्नुपर्छ । यसमा अभिभावकको भूमिका असाध्यै महत्त्वपूर्ण छ ।
अभिभावकका लागि अभिभावक शिक्षामा पनि हामीले काम गरिरहेका छौँ ।
अन्त्यमा, छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा हुँदैन । विद्यालयसँगको नियमित सम्पर्क र सहकार्यमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि काम गर्नुपर्छ ।
आफ्ना बालबालिकाको शिक्षा, दीक्षाको विषयमा अभिभावकले सक्रियतापूर्वक चासो राख्ने गर्नुपर्छ । यसले गर्दा अभिभावक र विद्यालयबिचको सम्बन्धका कारण विद्यार्थीमा पनि थप उत्प्रेरणा मिल्छ ।

