महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि भिडियो एक्सरे मेसिन आज जेष्ठ ८ गते एक कार्यक्रम बीच एकडारा गा.पा.लाई हस्तान्तरण गरिएको छ ।

उक्त भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता अन्त्य हुने कुरा बताउनुभयो ।

सोही अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतोले भिडियो एक्सरे सेवा पश्चात मातृशिशु स्वास्थ्यमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो।

IMG-20240521-WA0044

यसैगरी एकिकृत ग्रामीण विकास समाज महोत्तरीका फोकल पर्सन उमेश न्यौपानेले गर्भवती महिलाको स्वास्थ्य र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन यस प्रकारको भिडियो एक्सरेबाट मद्दत पुग्ने कुरा बताउनुभयो ।

एकडारा गाउँपालिकाको अनुरोध पश्चात नेपाल सरकार परिवार कल्याण महाशाखाको स्वीकृत मापदण्ड बमोजिमको ४ लाख ४० हजार ७ सय रुपैयाँको लागतमा प्रिन्टर र ट्रलीसहितको भिडियो एक्सरे मेसिन खरिद गरी हस्तान्तरण गरिएको कुरा संस्थाका पोषण कार्यक्रम अधिकृत भुपेन्द्र निरौलाले जानकारी दिनुभयो ।

मातृशिशु स्वास्थ्यलाई प्रभावकारी बनाउन संस्थाले यस भन्दा अगाडि पनि स्वास्थ्य संस्थाका लागि आवश्यक बेबी वार्मर, डेलिभरी बेड, डेलिभरी सेट, रेफ्रिजरेटर, सङसन मेसिन, इन्स्ट्रुमेण्ट ट्रली, विपी सेट, ट्रलि, अटोक्लेव, पेरिलाइट, डस्टविन लगायतका सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिसकेको कुरा संस्थाको कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

उक्त भिडियो एक्सरे एकडारा स्वास्थ्य चौकीमा राखेर गर्भवती जाँच गरी सेवा दिने र सो कार्यका लागि जनशक्ति एकडारा गाउँपालिकाले ब्यवस्थापन गर्ने कुरा गाउँपालिकाका स्वास्थ्य शाखा निमित्त प्रमुख इब्राहिम नडाफले जानकारी दिनुभयो ।