विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर महानगरपालिका-१० ट्राफिक चोकनजिक रहेको विराट क्षितिज विराटनगर-२ बरगाछीस्थित नयाँ भवनमा सरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।

शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘यसै कलेजमा पढेर सयौं विद्यार्थी दीक्षित भइ स्वदेश तथा विदेशमा अध्ययन अनि रोजगारी कार्यमा क्रियाशील छन् । अहिले कलेजको स्थानीत्वका लागि भनेर हामीले नयाँ ठाउँमा स्थानान्तरण गरेका हौं ।’

स्नातक तहका बिएससी सिआइटी र बिसिए विषय अध्यापन गर्दै आएको कलेज नयाँ व्यवस्थापकीय र प्रशासकीय टोलीले नेतृत्व गर्न थालेको छ । सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी कार्कीले सम्हाल्दा दिनेश दाहाल प्रिन्सिपलको भूमिकामा छन् । कान्तिपुर एजुकेसन फाउन्डेसन मोरङ प्रा.लि. साझेदारको रूपमा छ ।

कलेजमा त्रिविको कोटाअनुसार प्रत्येक वर्ष बिएससी सिएसआइटीतर्फ ३६ र बिसिएतर्फ ३५ विद्यार्थी भर्ना गर्ने कोटा रहेको प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, तालिमका अतिरिक्त कक्षा सञ्चालन, इन्टर्नसिपको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूको समूहबाट अध्यापन भइरहेको प्रिन्सिपल दाहालले बताए ।

हाल बिएससी सिएसआइटी र बिसिए गरी दुई मात्र विषयमा पठनपाठन भइरहे पनि भावी दिनमा अरू ‘फ्याकल्टी’मा अध्यापन गराउने योजनामा आफूहरू रहेको उनको भनाइ छ ।