भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित शिंहदेवी माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। तीन दिनसम्म चलेको यस वार्षिक उत्सव आइतबार विधिवत रूपमा समापन भयो। वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविधिहरूको आयोजना गरी विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल भएको छ।

वार्षिक उत्सवको समापन समारोहमा कोशी प्रदेशका राज्य मन्त्री सिर्जना राई प्रमुख अतिथि र टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राई विशेष अतिथिका रूपमा उपस्थित थिए। मन्त्री राईको यस विद्यालयसँग विशेष सम्बन्ध रहेको छ, किनभने उनी यस विद्यालयकी पूर्व छात्रा हुन्। विद्यालयमा अध्ययन गरी राज्य मन्त्रीको गरिमामय पदमा पुग्न सफल भएकाले विद्यालयले उनलाई यस अवसरमा विशेष सम्मानसमेत प्रदान गर्‍यो।

विद्यालयको पहिलो एसएलसी व्याजकी प्रथम छात्रा रहनुभएकी मन्त्री राईले आफ्नो सम्बोधनमा विद्यालय र सम्पूर्ण भोजपुर जिल्लाको समग्र विकासमा आफ्नो तहबाट निरन्तर योगदान दिइरहेको बताइन्। उनले विद्यालयको भौतिक संरचनाको निर्माण र विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाइन्। "शैक्षिक क्षेत्रको सुधारसँगै समग्र जिल्लाको विकासमा आफ्नो तहबाट भूमिका खेलिरहेकी छु," उनले भनिन्, "मैले पाएको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरिरहेकी छु। शिर झुकाउने काम गर्ने छैन। यहाँको भौतिक संरचनाको विकासमा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्नेछु।"

समारोहमा बोल्दै टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले गाउँपालिकाले शैक्षिक सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताइन्। उनले एसईई परीक्षाको नतिजा अपेक्षाअनुसार नआएकोमा चिन्ता व्यक्त गर्दै शैक्षिक सुधारमा सबै पक्षको गम्भीर सहभागिता आवश्यक रहेको बताइन्। "शैक्षिक सुधारका लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको छ," उपाध्यक्ष राईले भनिन्, "तर पनि उल्लेख्य रूपमा शिक्षाको सुधार हुन सकेको छैन। शैक्षिक सुधारका लागि सरोकारवाला सबै पक्ष गम्भीर बन्न आवश्यक छ।"1725381064056

विद्यालयका प्रधानाध्यापक राजधन राईले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको हालसम्मको प्रतिवेदन प्रस्तुत गरे। उनले विद्यालयको भौतिक संरचनाको सुधारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्री र गाउँपालिका उपाध्यक्षसमक्ष माग पत्रसमेत हस्तान्तरण गरे। 

वार्षिक उत्सवको अवसरमा विद्यालयमा शरणमाया राई पुन्य अक्षय कोष पनि स्थापना गरिएको छ। शरणमाया राईका छोरा-बुहारीहरूले उनको ८९ औं जन्मदिनको अवसरमा एक लाख एक हजार १०१ रुपैँयाको उक्त कोष स्थापना गरेका हुन्। उक्त कोषको व्याजबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरिने जानकारी अनिल कुमार राईले दिए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष एगिन्द्रराज दंगाल, छिमेकी विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा स्थानीय समुदायका थुप्रै व्यक्तिहरूको उपस्थिति थियो। 

यो वार्षिक उत्सवले शिंहदेवी माध्यमिक विद्यालयलाई स्थानीयस्तरमा मात्र होइन, जिल्लाभरि नै चर्चा गराउन सफल भएको छ। विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रममा सहभागी भएका सबैले यस उत्सवलाई अत्यन्तै सफल र सार्थक भएको प्रतिक्रिया दिएका छन्।