इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बाल सञ्चालको आयोजनामा टोल स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। यो प्रतियोगिता ६०औं बाल दिवसको अवसरमा इटहरी ७ का तीनवटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडा बाल सञ्चालका अध्यक्ष सुलभ न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष देवनारायण चौधरी सहभागी भएका थिए। प्रतियोगितामा विद्यार्थीहरूलाई शिक्षा र बाह्य ज्ञानको अभिवृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताएका छन्।

कार्यक्रममा इटहरी ७ का वडा अध्यक्ष चौधरीले बाल सञ्चालको गतिविधिले विद्यार्थीहरूलाई विभिन्न विषयमा ज्ञान प्रदान गरिरहेको र वडाबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतियोगितामा इटहरी ७ स्थित सेक्रेट हार्ड स्कूलको शेष बाल क्लब प्रथम, लक्ष्मी माविको बाल क्लब द्वितीय, र मंगल बाल क्लब तृतीय भएका छन्। विजेताहरूलाई ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा इटहरी ७ का वडा सदस्य नेत्र गुरागाई, बाल सञ्चालका उपाध्यक्ष प्रयास घिमिरे, र अन्य सदस्यहरूको पनि उपस्थिति थियो। यो कार्यक्रम इटहरी ८ मा रहेको युवा विकास केन्द्रको सभाहलमा सम्पन्न गरिएको थियो।