इटहरी : इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस पढ्न मेयर हेमकर्ण पौडेलले ब्यक्तिगत रुपमा ५१ हजार रूपैयाँ दिएका हुन् ।

 त्यस्तै उपमहानगरले पनि डाक्टर पढ्न १५ लाख रुपैयाँ दिने सहयोग  घोषणा गरेका छन् । मेयर पौडेलले  बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत तर्फबाट ५१ हजार र उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ सहयोग स्वरूप दिने घोषणा गरेका हुन् ।

कमजोर आर्थिक अवस्थाकी खत्री आर्थिक अभावकै कारण एमबीबीएस अध्ययन गर्न समस्या भइरहेको बेला मेयर पौडेलले उक्त रकम दिने घोषणा गरेका हुन् । मेयर पौडेलले इटहरीबासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात लागिरहेको समेत बताए ।

 इटहरी १० सुकुम्बासी बस्तीमा बस्दै आएकी उनी भुमिहिन हुन । सुवेक्षाले छात्रवृत्तिमा उत्कृष्टता प्राप्त गरेको भएपनि खर्च अभावले आफ्नो डाक्टर बन्ने सपना त्याग्नुपर्ने अवस्थामा पुगेकी थिइन् । 

उपमहानगरले सुवेक्षाको पढाइमा लाग्ने खर्चमध्ये १५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनले आफ्नो सपना पूरा हुने जनाएकी छन् । सरकार बाटो र पुलमा मात्र नभई यस्ता बिषयमा पनि गम्भिर भएर लाग्ने मेयर पौडेलले बताए ।