दुहवी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० मा लागुपदार्थ तथा दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले समाजमा लागुपदार्थको दुव्र्यसनीको समस्या र यसबाट हुने नकारात्मक प्रभावहरूबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको आयोजना प्रेस नेटवर्क मेनेजमेन्टले आयोजना गरेको हो भने दुहबी नगरपालिका वडा नम्बर १० ले यसमा विशेष सहयोग गरेको थियो। हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको हो।
कार्यक्रम दुहबी वडा नम्बर १० को जनता माबि सिमरियामा आयोजना गरिएको थियो, जहाँ प्रमुख अतिथिको रूपमा दुहबी नगरपालिका वडा नम्बर १0 का अध्यक्ष तुलाराम माझीको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता प्रेस नेटवर्क मेनेजमेन्टका अध्यक्ष बिकल पौडेलले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि रक्सु थारु, सुशीला उराउ, जनता मा.बि. सिमरियाका प्रधानाध्यापक सुरेश कुमार चौधरी स्थानीय अभिभावक, बालबालिका, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरू लगायतको व्यापक सहभागीता रहेको थियो।
लागुपदार्थ र दुव्र्यसनीको प्रभावलाई कम गर्न, विशेष गरी युवा पुस्तामा यसबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो। दुहबीका प्रतिष्ठित शिक्षक रमेशबाबु थापाले लागुपदार्थ र दुव्र्यसनीसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले लागुपदार्थमा कसरी फसिन्छ, यसबाट उम्कन कसरी सकिन्छ, र कसरी दुव्र्यसनीको चपेटामा परेका व्यक्तिहरूलाई उद्धार गर्न सकिन्छ भन्ने विषयमा गहन ज्ञान बाँड्नुभयो। साथै, अभिभावकहरूले आफ्ना बालबालिकाहरूको निगरानी गरी कसरी उनीहरूलाई गलत बाटोमा जानबाट जोगाउन सकिन्छ भन्ने कुरामा पनि चर्चा गर्नुभयो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी रजिप रणपहेलिले लागुपदार्थ तथा दुव्र्यसनीसम्बन्धी कानूनी पहलहरूको बारेमा जानकारी दिनुभएको थियो। उहाँले बालबालिका, युवाहरूलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन कानूनी शिक्षा र सजगता अत्यावश्यक रहेको कुरामा जोड दिनुभयो।
प्रमुख अतिथि दुहवी वडा नं १०का अध्यक्ष तुलाराम माझीले लागुपदार्थ दुव्र्यसनी नियन्त्रणमा यस्ता कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार वडा स्तरमा सडक र पूर्वाधारको विकास जति आवश्यक छ, त्यति नै आवश्यक छ समाजमा बढ्दै गएको दुव्र्यसनीको समस्यालाई रोक्न पहल गर्नु। उहाँले कार्यक्रमले वडामा सकारात्मक सन्देश प्रवाह गरेको र अभिभावक तथा युवाहरूलाई सचेत बनाएको उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि मोरङका अध्यक्ष बिकल पौडेलले सबै सहभागीलाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमहरू निरन्तर आयोजना गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउन थप प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


