इटहरी | इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ६९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। यस अवसरमा विद्यालयले ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। बालविकासदेखि कक्षा १२ सम्मका साधारण तथा प्राविधिक विद्यार्थीलाई दाताहरूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट यो छात्रवृत्ति प्रदान गरिएको हो।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीको अध्यक्षमा कार्यक्रम गरिएको थियोे ।

अक्षयकोषको बढ्दो प्रभाव

विद्यालयले अहिलेसम्म ७५ जना दाताहरूको सहयोगमा २० लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ। अघिल्लो वर्ष ६८औं वार्षिकोत्सवमा १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति वितरण गरिएको थियो। प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार यसपटक २९ जना थप दाताहरूको योगदानबाट अक्षयकोषको रकम उल्लेखनीय रूपमा वृद्धि भएको छ।

पूर्व जनप्रतिनिधि र विद्यार्थीहरूको सम्मान

कार्यक्रममा दुई जना पूर्व जनप्रतिनिधिलाई मरणोपरान्त सम्मान गरियो। २०४९ देखि २०५९ सालसम्म तत्कालीन हाँसपोसा गाउँ विकास समितिका वडाध्यक्ष लालबहादुर लुइँटेल र २०७४ मा निर्वाचित वडाध्यक्ष विष्णुलाल चौधरीलाई मरणोपरान्त सम्मान गरिएको थियो। चौधरीकी श्रीमती गौरीदेवी र छोरी एलिनाले सम्मान ग्रहण गरे।

साथै, अक्षयकोषमा योगदान गर्ने २२ जना पूर्व विद्यार्थीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरियो। यसैगरी, अक्षयकोष स्थापना गर्ने अन्य व्यक्तिहरू—पूर्व प्रधानाध्यापक शम्भुप्रसाद सापकोटा, बद्री अधिकारी, पद्माकुमारी अधिकारी, नूतनप्रसाद ढकाल र दीपेन्द्र ढकाललाई पनि सम्मान गरियो।

विशेष योगदानका लागि सम्मान

विद्यालयका अभिभावक र विद्यार्थीहरूलाई समेत सम्मान गरियो। आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने अभिभावकहरू—राजु तामाङ, सुष्मा तामाङ, दानबहादुर विश्वकर्मा, भूमादेवी विश्वकर्मा, र मनमाया विकलाई नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, कक्षा १ का असिम खत्रीलाई विद्यालयमा सधैं सफासुग्घर भएर उपस्थित हुने विद्यार्थीको रूपमा पुरस्कृत गरियो।

सात शिक्षक-कर्मचारीलाई पनि नगदसहित सम्मान प्रदान गरियो। सम्मानित शिक्षकहरूमा कुमारी भारती, सावित्रा श्रेष्ठ, सन्दीप बास्तोला, राजकुमार ढकाल, इन्दिरा थापा, डम्बरकुमारी थापा, र कर्मचारी मधुरलाल चौधरी परे।

वार्षिक आय-व्यय विवरण

विद्यालयका प्रधानाध्यापक बस्नेतले आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय-व्यय प्रस्तुत गरे। यस वर्ष विद्यालयको कुल आम्दानी चार करोड ७२ लाख १८ हजार ८९८ रुपैयाँ र खर्च चार करोड ६६ लाख ४६ हजार ८६० रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २०७९/८० मा पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ आम्दानी र पाँच करोड ५७ लाख ७ हजार ५६८ रुपैयाँ खर्च भएको थियो।

आगामी योजना र नीतिहरू

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले आगामी शैक्षिक सत्रका लागि विभिन्न योजना र नीति सार्वजनिक गरे। विद्यालयको आगामी योजनामा समावेश:

  • ६ कोठे पक्की भवन निर्माण।

  • खेलमैदान स्तरोन्नति।

  • सिसि क्यामेरा जडान।

  • दुईवटा नयाँ विद्यालय बसको व्यवस्था।

  • शुद्ध पेयजल (फिल्टरसहित) को सुविधा।

  • बाल उद्यान निर्माण र पार्किङको उचित व्यवस्था।

  • विद्यार्थीहरूको उमेरअनुसारको फर्निचरको व्यवस्था।

  • अलग परीक्षा शाखा स्थापना।

  • स्मार्ट विद्यालय र स्मार्ट शिक्षक कार्यक्रम लागू।

  • शिक्षक कार्यसम्पादन सम्झौता कार्यान्वयन।IMG-20241128-WA0045

खेलकुद र अतिरिक्त क्रियाकलाप

वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिताका ५१ इभेन्टहरू सञ्चालन गरियो। प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगदान पुर्‌याएको छ।

शैक्षिक कार्यक्रम र उपलब्धि

विद्यालयमा हाल १,९२० विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, र विज्ञान (जीवविज्ञान र भौतिकशास्त्र) विषयहरू पढाइ हुन्छ। यसै वर्षदेखि होटल म्यानेजमेन्ट कार्यक्रम पनि सुरु गरिएको छ। साथै, प्राविधिक शिक्षातर्फ "डिप्लोमा इन सिभिल इन्जिनियरिङ" पनि उपलब्ध छ।

विद्यालयले वार्षिकोत्सवका माध्यमबाट शैक्षिक र सामाजिक योगदानलाई अझै सुदृढ बनाउने योजना अघि सारेको छ।IMG-20241128-WA0043