रामधुनी / सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्य रूपमा मनाइएको छ। "समानता सुनिश्चित गर्दै समावेशी समाजको निर्माण" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रम अपाङ्गता उत्थान केन्द्र नगर स्थरिय अपाङ्ग समिति रामधुनी नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा रामधुनी नगरपालिकाको सहयोग र समन्वय रहेको थियो। कार्यक्रमको अध्यक्षता अपाङ्गता उत्थान केन्द्रका अध्यक्ष डिल्लीराम चौलागाईंले गर्नुभएको थियो भने कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सामग्री हस्तान्तरण गरियो। नगरपालिकाले १५ वटा ह्वीलचेयर, ४ वटा ट्राइसाइकल, ११ वटा साधारण लठ्ठी, ५ वटा सेतो छडी, १५ वटा कमोड चेयर, र ९ जोर बैसाखी वितरण गर्यो। अपाङ्गता भएका व्यक्तिहरूको दैनन्दिन जीवनमा सहजता ल्याउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरिएको हो।
रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, र भौतिक संरचनामा पहुँच सुनिश्चित गर्न विशेष योजना अघि सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई साथ र सहयोग पुर्याउन नगरपालिकाले हरसम्भव प्रयास गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि रेवती रमण भण्डारीले फरक क्षमताका व्यक्तिहरूको उत्थानमा प्रदेश सरकारले सदैव साथ दिने प्रतिवद्धता जनाउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार संरक्षण र अवसर सुनिश्चितताका लागि प्रदेश सरकारले आवश्यक नीति र कार्यक्रमहरू अघि बढाउने बताउनुभयो।
रामधुनी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता समन्वय समिति संयोजक तारा थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर र सम्मानजनक जीवन प्रदान गर्न नगरपालिका कटिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा नेकपा एमाले रामधुनी नगरका अध्यक्ष योगेन्द्र खड्का, नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरू, विभिन्न सामाजिक संस्था, जनप्रतिनिधि, र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हितमा दीर्घकालीन योजनाहरू अघि बढाउने घोषणा गर्यो। यसले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज भौतिक संरचना, रोजगार अवसर, स्वास्थ्य सेवा, र शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको मूल उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्नु रहेको बताइएको छ। यस प्रकारका गतिविधिहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सम्मानजनक जीवनयापन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।
यस दिवसले समावेशी समाज निर्माण र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा राखिएको छ।


