मोरङ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ ।
बम रहेको खबर सार्वजनिक भएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिमतर्फ सुरुङभित्र गाडिएको अवस्थामा बिहीबार दिउँसो ती बम फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ती बम माओवादी द्वन्द्वकालमै राखिएको आशंका गरिएको छ । बमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल आसपास करिब दुई किलोमिटर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
स्थानीय प्रशासनले बमका कारण राजमार्ग विस्तार कार्यमा चुनौती देखा परेपछि अनुसन्धान अघि बढाएको छ । माओवादीका केही नेताहरूले स्थानीय प्रशासनलाई बमबारे सूचना दिएका थिए । सूचना लगत्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो ।
फेला परेका बम नेपाली सेनाको विषेश टोली द्वारा डिस्पोज गर्ने तयारी गरिरहेको छ । सुरक्षा जोखिमका कारण नेपाली सेना र प्रहरी टोलीले घटनास्थललाई पूर्ण रूपमा नियन्त्रणमा राखेका छन् । स्थानीय प्रशासनका अनुसार, बम विस्फोट हुने जोखिम भएकाले सजगता अपनाइएको छ। घटनाबारे थप जानकारी लिन प्रशासनले अनुसन्धान जारी राखेको छ ।


