काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ हस्पिटल० ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ । गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । अस्पतालका निमित्त निर्देशक डा। घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो । स्थगन अवधिमा अस्पतालले ओपीडी र आकस्मिक सेवामा मात्र बीमा सुविधा उपलब्ध गराउँदै आएको थियो । त्रिवि शिक्षण अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । बोर्डबाट अझै करिब ७० करोड रुपैयाँ प्राप्त गर्न बाँकी र २० करोड रुपैयाँको दाबी प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ । डा। गुरुङका अनुसार गत असारसम्मको बाँकी रकम छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो । देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा पाँच महिनासम्म बीमा सेवा स्थगित हुँदा हजारौं बीमित बिरामीले समस्या भोग्नुपरेको थियो । अस्पतालले जारी गरेको सूचनामा सबै प्रकारका बीमा सेवाहरू पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।


