काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् । निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्ण पौडेलले बताए । नेपालमा हाल करिब ९०० जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर, विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । ०७८ को जनगणनामा २।२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०।८ प्रतिशतमा हिमोफिलिया भएको हुन सक्ने ठानिएको छ ।