भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९, लेर्खकस्थित राउते खोलामा कुल ४१ लाख ३ हजार २ सय ५ रुपैयाँ २४ पैसाको लागतमा ट्रस पुल निर्माण गरिएको छ। पुल निर्माणपछि २५ सयभन्दा बढी उपभोक्ताहरू लाभान्वित भएका छन्। विशेषगरी, दैनिक आवतजावत, विद्यार्थीहरूको विद्यालय जाने मार्ग र किसानहरूले उत्पादनहरू बजारसम्म पुर्‍याउनमा ठूलो सहजता भएको छ।

यो पुल कादुरी एग्रीकल्चरल एड एसोसियसन (ब्रिटिश गोर्खाज नेपाल) को आर्थिक सहयोगमा निर्माण गरिएको हो। २०७९ साल असार ७ गतेको अविरल वर्षाले पहिलाको पुल बगाएपछि स्थानीय बासिन्दाहरू लामो समयसम्म समस्यामा परेका थिए। खोलाको आवतजावतमा आउने कठिनाइले गर्दा विद्यालय जाने विद्यार्थीहरू, गर्भवती महिला, वृद्धवृद्धा, र बिरामीको उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न समेत निकै चुनौतीको सामना गर्नुपरेको थियो।

नयाँ ३२ मिटर लामो ट्रस पुल २०८१ साल कार्तिक २२ गतेबाट सुरु गरिएको थियो र ७२ दिनभित्रै निर्माण सम्पन्न गरी गाउँपालिकाको वडा नं. ९ लेर्खकलाई हस्तान्तरण गरिएको हो। पुल निर्माणपछि ग्रामीण बस्तीको जनजीवनमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्।

वडाध्यक्ष नवराज माङपाङले कादुरीको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै पुल निर्माणले गाउँबासीहरूको यातायात सहज बनाउनुका साथै सामाजिक र आर्थिक गतिविधिमा पनि वृद्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पुल निर्माणले लेर्खकका बासिन्दाहरूलाई मात्र होइन, आसपासका गाउँहरूलाई पनि फाइदा पुगेको छ। बाढी र अन्य विपद्को समयमा जोखिमपूर्ण आवतजावत अब समाप्त भएको छ।”

कादुरी एग्रीकल्चरल एड एसोसियसनले भविष्यमा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिले पुलमा कुनै क्षति पुर्‍याए सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

स्थानीय ईश्वरकुमार दंगालले पुल निर्माणले गाउँमा यातायात सहज मात्रै नभई, विकासका अन्य आयामहरू पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, यसअघि गाउँलेहरूलाई दैनिक जीवनका हरेक काममा असुविधा भोग्नुपरेको थियो, तर अब यो पुलले ती सबै कठिनाइ अन्त्य गरेको छ।

पुल निर्माणका लागि ब्रिटिश गोर्खाज नेपालको कादुरी एग्रीकल्चरल एड एसोसियसनको पहलले सामाजिक विकासका लागि ठोस योगदान दिएको देखिएको छ। यस्ता परियोजनाहरूले ग्रामीण क्षेत्रका जनताको दैनन्दिन जीवनलाई सहज बनाउँदै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न ठूलो भूमिका खेल्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।1737694867277