इटहरी  नेपालको हिमाली पर्यटन, पर्वतीय नेतृत्व र साहसिक आरोहण क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तित्वलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त इन्टरनेशनल माउन्टेन लिडर कृष्णकुमार मगर र लिम्बू समुदायबाट पहिलो सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालको अन्तिम समयमा बधाई ज्ञापन गरेका हुन् । नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मगर र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर लिम्बू समुदायको प्रतिनिधित्व गरेका शेर्माको उपलब्धिलाई प्रदेश प्रमुखबाट गरिएको सम्मानले उनीहरुलाई नेपालको पर्यटन क्षेत्रमा थप योगदान गर्न हौसला प्रदान गरेको छ ।

प्रदेश प्रमुख खापुङको शुभकामना तथा बधाई प्राप्त गरेपछि कृष्णकुमार मगरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै प्रदेश प्रमुख, उनका स्वकीय सचिव देवेन्द्र खापुङलगायत प्रदेश प्रमुखको कार्यालय परिवारप्रति आभार प्रकट गरेका छन् । मगरले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न लागेका प्रदेश प्रमुख खापुङलाई सफल कार्यकालका लागि बधाई दिँदै कार्यकालको अन्तिम समयमा आफू र नेपालको पहिलो कीर्तिमानी अन्तर्राष्ट्रिय माउन्टेन लिडरका रूपमा आफ्नो उपलब्धिलाई सम्मान गरेकोमा धन्यवाद दिएका छन् ।

उनले आफ्नो सन्देशको अन्त्यमा किरात लिम्बू समुदायको अभिवादन ‘सेवारो’ समेत व्यक्त गरे । नेपालका पहिलो यूआईएमएलए मान्यताप्राप्त माउन्टेन लिडर सोलुखुम्बुको टाप्टिनमा जन्मिएका कृष्णकुमार मगर नेपालको पर्वतीय पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान स्थापित गर्ने पर्वतीय नेतृत्वकर्ता हुन । उनी यूआईएमएलएबाट मान्यताप्राप्त नेपालका पहिलो इन्टरनेशनल माउन्टेन लिडर हुन् । उनको व्यावसायिक यात्राको सुरुवात किशोरावस्थामै भएको थियो । १५ वर्षको उमेरमा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि हिमाली यात्राप्रतिको आकर्षणलाई व्यावसायिक यात्रामा रूपान्तरण गरेका मगरले पर्वतीय पर्यटन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

उनी फ्रेन्च भाषामा समेत दक्ष पूर्णकालीन अन्तर्राष्ट्रिय माउन्टेन लिडर तथा प्रशिक्षकका रूपमा परिचित छन् । ड्रीम पिक एड्भेन्चरको आधिकारिक परिचयमा उनलाई सन् २०२१ देखि नेपालको पहिलो यूआईएमएलए प्रमाणित इन्टरनेसनल माउन्टेन लिडरका रूपमा उल्लेख गरिएको छ । माउन्टेन लिडरको जिम्मेवारी पर्यटकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म पु¥याउनु मात्र होइन, हिमाली भूगोल, मौसम, जोखिम व्यवस्थापन, पदयात्रा नेतृत्व, उद्धारसम्बन्धी ज्ञान र अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डको पालना पनि यसका महत्वपूर्ण पक्ष हुन् । यस अर्थमा मगरको उपलब्धि नेपालको पदयात्रा क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डसँग जोड्ने एउटा महत्वपूर्ण उपलब्धि हो । उनको सफलताले नेपाली पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय तालिम र व्यावसायिक प्रमाणपत्रको महत्वसमेत उजागर गरेको छ ।

उता सगरमाथा चढ्ने लिम्बू समुदायका प्रथम आरोही, कोशी प्रदेशको हिमाली पर्यटन र समुदायगत पहिचानसँग जोडिएको अर्को महत्वपूर्ण नाम हो– सुशील शेर्मा लिम्बू । उनले सन् २०१७ मे २० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनले नेपालबाट दक्षिणी मार्ग हुँदै आरोहण गरी सन् २०१७ मे २० मा सर्वाेच्च शिखर सगरमाथाको शिर चुमेका थिए । सगरमाथा आरोहणको यो उपलब्धि लिम्बू समुदायका लागि पनि गौरवको विषय हो । हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रमा विभिन्न जातीय समुदायको सहभागिता तथा प्रतिनिधित्व बढ्दै जानु नेपालको पर्वतीय पहिचानका लागि महत्वपूर्ण पक्ष हो ।

यसैगरी, सन् २०२६ को वसन्तयाममा सगरमाथा आधार शिविरमा स्थापना गरिएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा पनि कृष्णकुमार मगर र सुशील शेर्मा लेईजन अफिसरका रुपमा सहभागी भई पर्वतीय पर्यटन ब्यवस्थापन गर्न नेपाल सरकारको तर्फबाट महत्वपुर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसले उनीहरूको पर्वतीय पर्यटनसँगको व्यावसायिक संलग्नतालाई थप उजागर गरेको छ । यसैबीच प्रदेश प्रमुख परशुराम खापुङ यही कात्तिक २४ गते कार्यकाल पूरा गरी बिदाइ हुँदैछन् । उनले २०७८ कात्तिक २३ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए र २०८३ कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गर्दैछन् । संघीयता कार्यान्वयनपछि पाँचवर्षे पूर्ण कार्यकाल पूरा गर्ने खापुङ पहिलो प्रदेश प्रमुख पनि हुन् । राजनीतिक समीकरण र सरकार परिवर्तनको शृङ्खलाबीच पनि पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुखका रूपमा उनको कार्यकाललाई चर्चा छ । उनको कार्यकालमा तत्कालीन प्रदेश नम्बर १ को नाम परिवर्तन भएर कोशी प्रदेश बनेको थियो । प्रदेशमा विभिन्न राजनीतिक नेतृत्वका सरकारसँग उनले संवैधानिक जिम्मेवारी निर्वाह गरेका थिए ।

उनको कार्यकालको अन्तिम समयमा पर्वतीय पर्यटन र सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुले प्रदेशको हिमाली पर्यटन, साहसिक पर्यटन र स्थानीय समुदायका उपलब्धिलाई सार्वजनिक पहिचान दिने अवसरसमेत सिर्जना गरेको छ ।