इटहरी । सुनसरीको इनरुवामा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १ सय ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरको विशेष सहयोगमा निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको हो । माघ १२ र १३ गते दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४ सय जना बिरामीको चेकजाँच गरिएको र अन्य १ सय ३१ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको जग्गा तथा आवस बिकास संघ सुनसरी अध्यक्ष नेत्र प्रसाद चौलागाईले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा इनरुवा नगरपालिका लगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको अध्यक्ष चौलागाईले बताउनुभयो । आँखाका बिरामी सबैभन्दा बढी ५० वर्षभन्दा माथिका रहेका र आँखाको हेरचाहा राम्रो सँग नगर्ने, धुँवा धुलोका कारण पनि आखाँमा समस्या हुने गरेको चिकित्सले बताएका छन् । निशुल्क आँखा शिविरमा कोशी आँखा अस्पतालका निर्देशक नेत्र रोग बिशेषज्ञ तथा सर्जन डा. प्रमोद शर्मा गौतम लगायतका चिकित्सकको टोली पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए । निशुल्क आँखा शिविर सञ्चालन भएपछि आर्थिक समस्या भएका र मोतियाबिन्दुका बिरामीलाई उपचारमा सहजता पुगेको छ ।


