इटहरी | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौला प्रमुख अतिथि रहेका थिए।

विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट बञ्चित नहुन् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो। प्रमुख अतिथि जीवन गड्तौलाले शिक्षाको गुणस्तर सुधार गर्न तल्लो तहबाटै पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा अक्षयकोष दाताहरूको उपस्थिति रहेको थियो । मंगलबार हुने अभिभावक भेला तथा ५९ अौं वार्षिकोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने तय गरिएको छ।

IMG_20250202_133813