इटहरी । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुुभारम्भ गर्नुभएको छ । सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट उहाले एचपिभी खोप अभियानको शुुभारम्भ गर्नुभएको हो । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सरकारले सिमित साधन स्रोतबाट जनताको जीवन सुरक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गर्नुभयो । उहाले कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएकाले सम्बन्धित सबैलाई सबै खोप दिने वातावरण बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राख्नुभयो । एचपिभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यसपटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उहाले आग्रह गर्नुभयो । खोप अभियान अन्र्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिने कार्यक्रम रहेको छ । कोशी प्रदेशका सुनसरी, ताप्लेजुङ, धनकुटा लगायत ८ जिल्लामा माघ २२ गते देखि, मोरङ, उदयपुर सहित ४ जिल्लामा माघ २३ गते देखि र इलाम र संखुवासभामा माघ २७ गते देखि खोप अभियान संचालन हुने र फागुन ४ गते समापन भएपछि छुटेका किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।


