इटहरी । उर्लाबारी नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।  नगरपालिकाकी उपप्रमुख मीना कुमारी खतिवडा पौडेलले उर्लाबारी–४ स्थित हिमचुली बोर्डिङमा खोप अभियानको उद्घाटन गर्नुभएको हो । यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपिभी खोप प्रदान गरिनेछ । उर्लाबारी नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत रेनुका प्रसाद काफ्लेका अनुसार नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूका ४ हजार १ सय ११ छात्रा सहित अन्य लक्षित समूहलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काले पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्न एचपीभी खोप प्रभावकारी रहेको बताउनुभएको छ । अभियान उर्लाबारीमा माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत नगरपालिकाका विभिन्न विद्यालय र स्वास्थ्य केन्द्रहरू खोप केन्द्रका रूपमा परिचालित हुनेछन् । नगर उपप्रमुख खतिवडाले महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर गम्भीर समस्या भएको बताउँदै यस अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।