मोरङ \ मोरङको सुन्दरहरैचा नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले १९ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै शानदार जित दर्ता गरेको हो।
विद्यालयका खेलाडीहरूको यस उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उच्च स्तरलाई मात्र होइन, सम्पूर्ण नगरको गौरवलाई समेत उजागर गरेको छ। प्रतियोगितामा सहभागी अन्य विद्यालयहरू पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढे तापनि साजिलाल माध्यमिक विद्यालयले आफ्नो उत्कृष्ट खेल क्षमताका कारण नगर विजेताको उपाधि सुरक्षित गर्यो।
प्रतियोगिता सम्पन्न भएपछि विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले ले खेलाडी विद्यार्थीहरूको मेहनत, समर्पण, र खेलप्रतिको लगावको प्रशंसा गर्दै विद्यालयको सफलताको श्रेय सम्पूर्ण विद्यालय परिवारलाई दिए। उनले भने, “विद्यार्थीहरूको अथक प्रयासले विद्यालयलाई नगर प्रथम स्थानमा पुर्याएको छ। यो सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय हो। आगामी दिनमा पनि खेलकुदलाई अझ प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराउने हाम्रो लक्ष्य छ।”
प्रधानाध्यापक काफ्लेले विद्यालय व्यवस्थापन, प्रशिक्षक, अभिभावक तथा सम्पूर्ण खेलाडी विद्यार्थीहरूको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय दोस्रो स्थान हासिल गर्न सफल भयो भने पूर्वाञ्चल एकेडेमी तेस्रो स्थानमा रह्यो। सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कूल ले सान्त्वना पुरस्कार प्राप्त गर्यो।
नगर स्तरीय यस प्रतियोगितामा विद्यार्थीहरूले देखाएको जोश, लगाव, र उच्च प्रदर्शन प्रशंसनीय छ। विद्यालयले आगामी दिनहरूमा पनि खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसले नगरका अन्य विद्यालयहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।