उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको नगरसभाको १३ औं अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट कार्यान्वयन, कार्यपालिका बैठकबाट गरिएको रकमान्तर अनुमोदन तथा बजेट खण्डीकरणबारे छलफल गरिएको थियो।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले स्वीकृत बजेट शीर्षकबाट रकमान्तर तथा बजेट खण्डीकरणका लागि प्रस्ताव पेश गरेकी थिइन् । कानुन मस्यौदा तर्जुमा समितिका सदस्य गौरीशंकर दाहालले करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विधेयक २०८१ नगरसभामा पेश गरेका थिए।
नगर प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले १२ औं नगरसभा पश्चात् कार्यपालिका बैठकका निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरेका थिए। सभामा विभिन्न समिति संयोजक तथा सदस्यहरूले प्रतिवेदनहरू पेश गरेका थिए।
जसमा आर्थिक विकास समिति संयोजक रविन लामा,सामाजिक विकास समिति संयोजक कृष्णबहादुर वर्देवा,पूर्वाधार विकास समिति संयोजक कुलबहादुर कार्की, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति – संयोजक कुमार कँडेल, सुशासन तथा संस्थागत विकास समिति संयोजक तिलककुमार पाण्डे, सदस्य उर्मिला थापा,अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक चिन्तामणि पौडेलले प्रतिवेदन पेश गरेका थिए।नगरपालिकाको सार्वजनिक सम्पत्तिको विवरणबारे वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईले जानकारी गराएका थिए।बैठकमा वडा सदस्यहरू डम्बर बराल, रुद्रप्रसाद लामिछाने र प्रकाश कन्दङ्वाले विभिन्न विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए। नगरसभाले प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।नगरपालिकाले नगरसभाको १३ औं अधिवेशन अन्तर्गत दोस्रो बैठक मंगलबार बस्ने जानकारी दिएको छ।


