इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा यही फाल्गुण ५ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै शिव मन्दिर निर्माणको सहयोगार्थ गरिन लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका कृपापात्र ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ।

महायज्ञको शुभारम्भ फाल्गुण ५ गते बिहान ८:३० बजे कलश यात्रा, समुद्घाटन, मण्डप पूजन तथा कथा प्रवचनसँगै गरिनेछ। प्रत्येक दिन बिहान नित्य पूजा, पाठ पारायण, तथा झाँकीसहित कथा प्रवचन हुने कार्यक्रम तय गरिएको छ। साथै, साँझतिर भजन किर्तन, ज्ञानमञ्च, र पितृ उद्धारार्थ ॐकार द्वीप प्रज्वलन समेत गरिनेछ।

फाल्गुण ७ गते विशेष रूपमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको उपस्थिति रहनेछ। त्यस्तै, फाल्गुण ११ गते साँझ लक्ष्यवर्तिका प्रज्वलन तथा रात्री जाग्राम कार्यक्रम राखिएको छ। फाल्गुण १२ गते तिलार्चन, पूर्णाहूति, तिलकपाति वितरण तथा यज्ञ विसर्जन गरी महायज्ञ समापन गरिनेछ।

स्थानीय टोल विकास संस्थाको प्रतिनिधि गर्दै शिव मन्दिर निर्माणका लागि पुराण आयोजना गर्न लागि राजश्व टोल विकास संस्थाका अध्यक्ष अमर श्रेष्ठले बताउनुभयो ।

यस सातादरि महायज्ञमा नेपालका ख्यातीप्राप्त कलाकारहरूद्वारा संगीतमय भजन संध्या, विविध धार्मिक झाँकी प्रदर्शन, तथा विशेष पूजा कार्यक्रमहरू गरिने आयोजकले जनाएको छ। साथै, यस धार्मिक कार्यमा आर्थिक सहयोग गर्ने भक्तजनहरूलाई दोसल्ला, सम्मानपत्र, ताम्रपत्र, तथा विशेष अभिनन्दन प्रदान गरिने व्यवस्था गरिएको राजश्व टोल विकास संस्थाका सचिव सुर्यबहादुर खत्रिले बताउनुभयो ।

राजश्वटोल टोल विकास संस्था तथा राजश्वटोल पुराण व्यवस्थापन समितिको आयोजनामा हुन लागेको यस धार्मिक कार्यक्रममा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कथा श्रवण, दर्शन तथा प्रसाद ग्रहणका लागि आयोजकले हार्दिक निमन्त्रण गरेको छ।