इटहरी / प्रजातन्त्र दिवसका अबसरमा नेकपा एमाले इटहरी उपमहानगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका अगाडि प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीकोको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि चौधरीले नेकपा एमाले राजनीति मात्र नभएर समाजमा आवश्यक पर्ने विभिन्न सामाजिक गतिविधिहरु निरन्तरताका साथ गरिरहेको बताउँदै रक्तदान पनि त्यसैको एउटा पाटो रहेको र जनतालाई आवश्यक पर्ने जस्तासुकै काममा पनि नेकपा एमाले अग्र स्थानमा रहने बताउनुभयो ।

नेकपा एमाले इटहरी उपमहानगर कमिटी अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप विभागले प्रजातन्त्र दिवसका अबसरमा समाजप्रतिको आफ्नो दायित्व पूरा गर्दै नेपाली नागरिकलाई अत्ति आवश्यक पर्ने रगत को कमीले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको इटहरी उपमहानगर कमिटी अध्यक्ष रुपेश बस्नेतले बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम। नेकपा एमालेका कोशी प्रदेश सदस्य तथा इटहरी इन्चार्ज प्रमोद शेर्पा, इटहरी नगर उपप्रमुख संगीता चौधरी, वडाध्यक्ष जितेन्द्र थापा, तेजनारायण चौधरी लगायत जनप्रतिनिधि,प्रदेश, जिल्ला नगर कमिटीका पदाधिकारी सदस्यहरू साथै स्थानीय बुद्धिजीवी समाजसेवी सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख उमेश दाहालले बताउनुभयो ।
दाहालका अनुसार रक्तदाताका परिवारले विराट मेडिकल कलेजमा एक वर्षसम्म उपचारमा भारी छुट पाउनेछन् । उनका अनुसार एक वर्षभरी १५ देखि शत प्रतिशत छुटसम्म दिइनेछ । यस्तो सुविधा परिवारका ९ जनासम्म सदस्यहरुले पाउनेछन् ।
यस्तै रक्तदातालाइ १ थान झुल, नेकपा एमालेको टोपी र विराट मेडिकल कलेजको डोनेशन कार्ड दिइएको छ। यस्तै रक्तदातालाई इटहरी मेडिकलद्वारा हप्तामा एक दिन शनिबार अत्याधुनिक ल्याबमा सुगर परिक्षण गरिदिने रन्जु सिग्देलले बताउनुभयो ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको उक्त रक्तदानमा १०८ जनाले रक्तदान गरेको नेकपा एमाले इटहरी उपमहानगर सचिव मदन कार्कीले बताउनुभयो ।


