संखुवासभा | संखुवासभाको शैक्षिक रूपमा प्रतिष्ठित महेन्द्र माध्यमिक विद्यालय, मानेभन्ज्याङले ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीलाई सम्मान गरेको छ ।
अरुण गाउँपालिकाका अध्यक्ष खत्रीले विं.सं. २०३७ देखि २०४० सालसम्म विद्यालयको प्रधानाध्यापक भइसकेका शालिकराम खत्री विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभयो। उहाँले विशिष्ट अतिथिका रूपमा आसन ग्रहण गर्दै विद्यालयमा बिताएको आफ्नो कार्यकालका अनुभवहरू बाँड्नुभएको थियो। साथै, विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सबै पक्ष एकजुट हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने, प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री माननीय राजेन्द्र कार्की उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि कार्कीले विद्यालयले शिक्षाक्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक स्रोत साधनको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।
सो सम्मान कार्यक्रम पुर्व प्रधानध्यापकहरू ७ जना ,पुर्व प्राचार्यहरू ७ जना ,सहयोगी संस्था ३ जना, नगरपालिकाका उत्कृष्ट प्रधानध्यापहरू १ जना ,सहयोगी व्यक्ति १ जना र शिक्षक कर्मचारी १४ जनालाई सम्मान गरिएको थियोे ।
उक्त समारोहमा स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा अन्य गणमान्य व्यक्तिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मान गरिनु शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर भएको भन्दै सहभागीहरूले यस कदमको प्रशंसा गरेका थिए।
विद्यालयका प्रधानध्यापक मेदिनी घिमिरे , शिक्षकहरू तथा व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा भावी योजनाबारे पनि आफ्ना विचार राखेका थिए। अभिभावक दिवसकै अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण तथा विद्यालयलाई अझै प्रभावकारी बनाउने सम्बन्धमा छलफल समेत गरिएको थियो।
समारोहका सहभागीहरूले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूको उज्जवल भविष्यका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।


