इटहरी / नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्य सहित कोशी मिनी यन्त्र ३.० आयोजना गरिँदैछ । यस वर्षको संस्करण फुजिसन सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सम्पन्न हुने भएको छ । बुधबार फुजिसन सगरमाथा बोडिङ स्कुलको सभाहलमा रोबर्टस एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन १८ र १९ गते कोशी मिनी यन्त्र ३.० आयोजना हुने जानकारी गराइएको होे ।
विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा संलग्न गराउनु, व्यावहारिक सिकाइ र समस्या समाधान क्षमताको विकास गराउनु, प्रविधि–आधारित उद्यमशीलता र अनुसन्धानलाई प्रवद्र्धन गर्नु तथा स्थानीय तथा राष्ट्रिय प्रविधि समुदायलाई एकीकृत गर्नुका लागि मिनी यन्त्र ३.० आयोजना हुँने रोबर्टस एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीले बताउनु भयो ।
कार्यक्रमले विद्यार्थीहरूलाई रोबोटिक्स, कृत्रिम बुद्धिमता एआइ , इन्टरनेट अफ थिङ्स एलओटि, एम्बेडेड सिस्टम, प्रविधि–आधारित उद्यमशीलता, तथा नवाचार सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै प्रतिस्पर्धात्मक अवसरसमेत प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । कोशी मिनी यन्त्र ३.० मा रोबो सॉकर प्रतियोगिता अन्तर्गत विद्यार्थीहरूले आफ्ना रोबोटहरू प्रयोग गरी सॉकर खेल्नेछन् । प्रविधि प्रदर्शनीमा विद्यालय, कलेज तथा स्टार्टअपहरूले आफ्ना प्रविधि परियोजनाहरू समावेश गर्न सक्ने छन् भने, रोबोटिक्स, एलओटि ,एआइ र अन्य प्रविधि सम्बन्धी कार्यशाला र तालिम समेत आयोजना गरिने फुजिसन सगरमाथा बोर्डिङ का प्रबन्ध निर्देशक राकेश श्रेष्ठले बताउनुभयो ।
यस वर्षको विशेष आकर्षण भनेको नेपालकै पहिलो रोबोट कुकुर साइबरडगको लाइभ डेमो हुनेछ । कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरू, प्रविधि, नयाँ विचार, तथा अनुसन्धानमा रुचि राख्ने व्यक्ति, स्टार्टअप संस्थापक, उद्यमी, तथा प्रविधि विशेषज्ञहरू, साथै शिक्षक, प्रशिक्षक, तथा शिक्षाविद्हरू सहभागी हुने छन् । नेपालमा प्रविधि र रोबोटिक्सको क्षेत्रमा विद्यार्थीहरूलाई सक्षम बनाउन कोशी मिनी यन्त्र ३.० ले नयाँ सोच र प्रविधिमैत्री समाज निर्माणमा टेवा पुर्याउने विश्वास लिइएको प्याप्सन इटहरी अध्यक्ष सूर्यमणि निरौलाले बताउनुभयो ।


