इटहरी | इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्पल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहे। विद्यार्थीहरूले मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो।
विद्यालयकी प्रिन्सिपल चन्द्रकला घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नेतृत्व विकास, पढाइ-लेखाइ, तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको बताइन्। विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कट्वालले शिक्षासँगै व्यवहारिक ज्ञानको शिक्षणलाई विद्यालयले विशेष प्राथमिकता दिएको उल्लेख गरे।
कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले नगरपालिकाले पनि निजि विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढेको साथै विद्यार्थीहरूलाई शिक्षा सँगै व्यवहारी ज्ञान सिकाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इटहरी वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ, वडा सदस्य तनुज गुरूङ (सुरेश), समाजसेवी दुर्गा बहादुर गिरि, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, स्थानीय विद्यालयका शिक्षकहरू, विद्यार्थी, अभिभावक तथा अन्य अतिथिहरूको कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो।


