भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो अस्पताल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय सरकार प्रतिबद्ध देखिएका छन्।

गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माण स्थलको निरीक्षण गरेको छ। अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, योजना अधिकृत शालिग्राम लुइटेल, वडाध्यक्ष कुमार कार्की, प्राविधिकहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। टोलीले अस्पताल निर्माणको प्रगति, प्रयोग भएका सामग्रीको गुणस्तर, तथा आगामी योजनाबारे जानकारी लिएको छ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष खत्रीले अस्पतालको भवन निर्माण हुनु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले अस्पतालमा प्रयोग गरिने उपकरण, दक्ष जनशक्ति तथा सेवा विस्तारबारे गम्भीर छलफल गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले भने, "अस्पताल बनेर मात्र हुँदैन, यहाँ के-के प्रकारका सेवा दिन सकिन्छ, कस्ता रोगहरूको परीक्षण तथा उपचार गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।"

अध्यक्ष खत्रीले संघीय सरकार, स्वास्थ्य मन्त्रालय तथा प्रदेश सरकारसँग समन्वय गर्दै अस्पताललाई आवश्यक उपकरण तथा दक्ष जनशक्ति उपलब्ध गराउने पहल भइरहेको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष विनिता ढकाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले निर्माण सामग्रीको गुणस्तर, निर्माण प्रक्रिया, तथा सम्झौताअनुसारका प्राविधिक मापदण्ड पूरा भएको छ कि छैन भन्ने विषयमा चासो राखे।1741107588698

निर्माण कम्पनीका प्रतिनिधि सुवास बुढाथोकीले अस्पताल भवन उच्च गुणस्तरका सामग्रीबाट निर्माण भइरहेको बताए। उनले निर्माण कार्यको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कार्यहरू तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।

उनले भने, "निर्माण सामग्रीको सहज उपलब्धता, गाउँपालिकाको निरन्तर सहयोग र प्राविधिक टोलीको सक्रियताका कारण हामीले काम निर्धारित समयमै सम्पन्न गर्न सकेका छौँ।"

न्यु ड्राइगन बि.जी.जे.भी. नामक निर्माण कम्पनीले १६ करोड ६८ लाख रुपैयाँको लागतमा अस्पताल निर्माण गर्ने सम्झौता गरेको छ। कम्पनीका अनुसार अस्पतालको सम्पूर्ण निर्माण कार्य चैत मसान्तसम्ममा सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। गाउँपालिकाले अस्पतालको भौतिक संरचना मात्र नभई गुणस्तरीय सेवा सञ्चालन गर्नका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

गाउँपालिका अध्यक्षका अनुसार अस्पताल सञ्चालनका लागि दक्ष स्वास्थ्यकर्मीको नियुक्ति, आवश्यक औषधि तथा उपकरण व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय भइरहेको छ।

उनले भने, "हामीले संघीय तथा प्रदेश सरकारसँग अस्पतालका लागि जनशक्ति र उपकरण व्यवस्थापनका लागि पहल गरिरहेका छौँ। हाम्रो लक्ष्य यो अस्पताललाई पूर्ण रूपमा सक्षम र सेवा प्रभावकारी बनाउनु हो।"

अरुण गाउँपालिकाका बासिन्दाहरू अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको देखेर खुशी छन्। स्थानीय स्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न पाउने भएपछि उनीहरूले सहजता महसुस गरेका छन्।

अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने तयारीमा छ। गाउँपालिकाले संघीय सरकार र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अस्पतालको सेवा विस्तारमा ध्यान दिने जनाएको छ।

यो अस्पताल सञ्चालनमा आएपछि स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने, बिरामीहरूले लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हट्ने र समग्र गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।

1741107595771