इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा अवस्थित ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरू भएको छ। शिक्षा क्षेत्रको स्तरोन्नति, विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने अवसर, अभिभावक र विद्यालय प्रशासनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम दुई दिनसम्म चल्ने भएको छ ।
कार्यक्रमको उद्घाटन ब्लुमिङ्ग लोटस इङ्गलिस सेकेन्डरी स्कुलका अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा मन्त्री भण्डारीले शिक्षा नै समाजको समृद्धिको मूल आधार हो भन्ने कुरामा जोड दिँदै विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू, शैक्षिक उपलब्धि हासिल गर्ने तथा खेलकुद, कला, संगीत र अन्य अतिरिक्त क्रियाकलापहरूमा विशेष योगदान दिने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल खेमराज डुङ्गेलले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न उठाएका कदमबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार, विद्यालयले आधुनिक प्रविधिमैत्री शिक्षा, प्रायोगिक शिक्षण विधि, विद्यार्थीहरूलाई सिर्जनशील बनाउने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
विद्यालयका प्रबन्ध निर्देशक टङ्क प्रसाद खनालले विद्यालयको २० वर्षे यात्रा, चुनौती र उपलब्धिहरू बारे चर्चा गर्नुभयो। उहाँले विद्यालयलाई यहाँसम्म ल्याउन अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको साथ र योगदान अमूल्य रहेको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उनीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गायन, कविता वाचन तथा स्वयंले निर्माण गरेका परम्परागत सामग्रीहरू प्रदर्शनी गरेका थिए। यसले विद्यार्थीहरूको सिर्जनशीलता, कला र संस्कृतिप्रतिको रुचि झल्काएको थियो।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति हेर्दै खुसी व्यक्त गरे र विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लिएको नीति तथा कार्यक्रमहरूको प्रशंसा गरे।
कार्यक्रममा ब्याब्सन सुनसरीका अध्यक्ष तथा मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल, इटहरी उपमहानगरपालिकाका कानुनी सल्लाहकार वीरेन्द्रप्रसाद गौतम, ज्योति माविका विव्यस अध्यक्ष ईश्वर विक्रम साह, ब्याब्सन सुनसरीका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, इटहरीका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले अगामी वर्षहरूमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरूलाई नवीनतम प्रविधिमैत्री शिक्षा दिनुपर्ने तथा विद्यालयको भौतिक पूर्वाधार र शिक्षण पद्धतिमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्यो।
यो वार्षिकोत्सवले विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको र शिक्षा क्षेत्रको विकासमा विद्यालयले खेलेको भूमिकालाई पुनः उजागर गरेको सहभागीहरूले बताए।


