इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि  मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।

त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो  । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई स्ववियु निर्वाचनमा भाग लिन नपाउने TU ले निर्देशन दिए अनुरुप नै मतदाता नामावली प्रकाशन हुनु पर्ने नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संगठनहरूले आफ्नो अडान राखेका छन् ।

यता अनेरास्ववियु र समाजवादी लगायतले भने अहिले सम्म भर्ना भएका सम्पुर्ण विधार्थीले निर्वाचनमा भाग लिन पाउनु पर्ने माग रहेको अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सन्तोस तिम्सिनाले बताए । अनेरास्ववियुमा विधार्थीको आर्कषण र माहोल राम्रो भएकाले   नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संगठनहरू सहमति र सहकार्यमा नगएको  अध्यक्ष तिम्सिनाले बताए । नेविसंघ, अनेरास्ववियू(क्रान्तिकारी) लगायतका संगठनहरूले सहमति र सहकार्यमा नजादाँ मापदण्ड उल्लंघन हुने र निर्वाचन रोक्ने प्रयास गरेको आरोप अनेरास्ववियुले लगाएको छ । 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूबीचको विवाद चर्किँदै गएको छ । क्याम्पस प्रशासनले तत्काल मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने दबाब बढेको छ । क्याम्पस प्रशासनले कसरी समाधान निकाल्छ भन्ने चासोको विषय बनेको छ । २५ गते मतदाता नामावली सार्वजनिक गर्ने  जनता क्याम्पस निर्वाचन समितीले सूचना सार्वजनिक जारी गरेको छ । 

 निर्वाचन समिती संयोजक संजिवकुमार यादवले भने विद्यार्थी संघ गठन विच सहमती नभए नियम निर्देशनका आधारमा मतदाता नामावली सार्वजनिक गरिने र समय मै  निर्वाचन सम्पन्न गराउने बताएका छन् ।  

सम्पादकिय, मिलन अधिकारी 

स्ववियु चुनाव केवल पद जित्ने माध्यम मात्र होइन, यो विद्यार्थीहरूको हक, हित, र भविष्यको निर्णय गर्ने अवसर हो । नियम–निर्देशहरू आवश्यक छन्,  पारस्परिक समझदारी र सहकार्य बिना चुनाव सफल हुन सक्दैन । जब विद्यार्थीहरू जिम्मेवारीपूर्वक, सहमति र एकताको भावनाका साथ चुनावमा सहभागी हुन्छन्, तब मात्र सही नेतृत्व चयन हुन सक्छ । 

स्ववियु निर्वाचन २०८१ को कार्यतालिकाअनुसार फागुन १९ गते स्ववियु निर्वाचन समितिको कार्यालयमा दर्ता भएका सङ्घ/सङ्गठन/समूहको  निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैमा सूचित  रहेको छ:-

१. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

२. नेपाल विद्यार्थी संघ 

३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

४. समाजवादी विद्यार्थी युनियन

५. अखिल (क्रान्तिकारी) बहुमत

६. संघर्षशील स्वतन्त्र विद्यार्थी समुह

७. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) (मोहन वैद्य किरण नेतृत्वको)

८. राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन