सुबास घिमिरे/ काठमाडौं। ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।
सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका छन्
११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् एमाले नेत्री भगबती चौधरीले नेपालमा अझै पनि महिला अधिकारका लागि ठुलो सङ्घर्ष गर्न आवश्यक रहेको बताउनु भएको छ
पूर्व महिला मन्त्री चौधरीको शुभकामना सन्देश हेर्नुहोस्
<em>अन्तर्राष्ट्रिय महिला दिवस (IWD) महिला अधिकारका लागि गरिएको ऐतिहासिक सङ्घर्षको प्रतीक हो। यो दिवस महिलाहरूको उपलब्धिहरूको उत्सव मनाउने र लैङ्गिक समानताको पक्षमा आवाज उठाउने महत्त्वपूर्ण अवसर हो। पहिलो पटक सन् १९११ मा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा विश्वभरि करिब १० लाख मानिसहरू सहभागी भएका थिए।
महिला दिवसको उत्पत्ति २०औँ शताब्दीको प्रारम्भमा युरोप र उत्तर अमेरिकामा भएका श्रमिक आन्दोलनहरूसँग जोडिएको छ। यसको महत्त्वलाई स्वीकार गर्दै सोभियत नेता भ्लादिमिर लेनिनले मार्च ८ लाई सार्वजनिक बिदा घोषणा गरेका थिए। आज पनि यो दिवस महिलाहरूका अधिकार, प्रजनन अधिकारको प्रवर्द्धन, हिंसा र विभेदको अन्त्यका लागि निरन्तर सङ्घर्ष गर्ने दिवसका रूपमा मनाइन्छ।
महिला अधिकार आन्दोलनको केन्द्रबिन्दुका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसले विश्वभरका महिलाहरूलाई एकताबद्ध गर्दै समानता र न्यायका लागि प्रेरित गर्दै आएको छ। यद्यपि विगतका वर्षहरूमा धेरै उपलब्धिहरू हासिल भएका छन्, नेपालमा अझै पनि महिला अधिकारका लागि ठुलो सङ्घर्ष गर्न आवश्यक छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत विभेदलाई अन्त्य गरी प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्नु अत्यावश्यक छ।
यस महत्त्वपूर्ण अवसरमा, म यो अभियानमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। विश्वभरका सम्पूर्ण महिलाहरूलाई अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना!
नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।
यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढै गएको छ । हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसै गरी निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महीलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महीलालले नै सङ्घर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।