इटहरी | इटहरी उप-महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजनामा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि निःशुल्क प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।

इटहरी–७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा विशेष गरी महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, रोकथाम तथा उपचारसम्बन्धी परामर्श प्रदान गरिएको थियो।

शिविरमा इटहरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मनिष शर्माको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। स्त्रीरोग, गर्भाशयको समस्या, क्यान्सरसम्बन्धी प्रारम्भिक लक्षण पहिचान गर्ने परीक्षणहरू र उपचारका उपायहरूसम्बन्धी जानकारी दिइएको थियो।

कार्यक्रममा इटहरी उप-महानगरपालिकाका  स्वास्थ्य महाशाखाकि कार्यक्रम  संयोजक राधा प्याकुरेलका अनुसार   शिविरले महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय स्तरमै यस्तो सेवा उपलब्ध गराउँदा धेरै महिलाहरूले समयमै स्वास्थ्य परीक्षण गराउन पाएका छन्, जसले रोग पहिचान गर्न र रोकथाम गर्न मद्दत गर्नेछ।

स्थानीय बासिन्दाहरूले पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरले समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याउने भन्दै प्रशंसा गरेका छन्। महिलाहरूमा बढ्दो स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपनजस्ता समस्याहरूलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता शिविरहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग उठेको छ।

इटहरी उप-महानगरपालिकाले आगामी दिनमा स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउँदै आवश्यक उपकरण तथा दक्ष जनशक्तिको व्यवस्था गरी व्यापक रूपमा सेवा प्रदान गर्ने योजना बनाएको छ।